‘सक्नेलाई श्रम नसक्नेलाई मानवसेवा आश्रम’

‘सक्नेलाई श्रम नसक्नेलाई मानवसेवा आश्रम’

काठमाडौं  : काठमाडौ महानगरपालिकाले महानगर क्षेत्रमा रहेका कोरोना महामारीका कारण रोजगारी गुमाएका तथा असहाय, अशक्त तथा शारिरीक रुपमा काम गर्न नसक्नेलाई व्यवस्थापन गर्ने नीति लिएको छ। 
 

महानगरले कार्यविधि तयार गरेर सक्नेलाई रोजगारी दिने र श्रम गर्न नसक्नेलाई मानसेवा आश्रममा राखेर जिवन निर्वाहको विकल्प सुरु गरेको हो। 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महामारीका कारण रोजगारी गुमाएका श्रम गर्न सक्नेलाई काम र नसक्नेलाई ‘जिवन निर्वाहको लागि पारिश्रमिक कार्यविधि,२०७७’ अनुसार व्यवस्थापनको काम थालिएको जानकारी दिए। 

यसका लागि आफू बसोवास गर्ने क्षेत्रको वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको उनले जानकारी दिए। 

‘सरकारी दररेट अनुसारको पारिश्रमिक दिई सिप भएकालाई सिप अनुसारको र सिप नभएकालाई सरसफाईलगायतका काममा लगाईनेछ’ उनले उकेरासँग भने,‘हप्ताको २  दिन काम उपलब्ध गराईनेछ।’

महानगरले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेटमा कोरोना महामारी नियन्त्रण, रोकथाम तथा राहत वितरण शिर्षकमा ४० करोड बजेट बिनियोजन गरेको छ। सोही बजेटअन्र्तगत रोजगारी र व्यवस्थापनको काम थालिएको जानकारी दिए।

त्यस्तै महानगरले आफ्नो क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरीक रुपमा काम गर्न नसक्ने महानगरको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको जनाएको छ।

यसका लागि आफु बसेको वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न सकिने महानगरले जनाएको छ। 

‘काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान र बस्ने व्यवस्था मिलाइएको छ। समस्यामा परेकाहरुको जानकारी आए हामी व्यवस्थापन गछौँ’ डंगोल भन्छन् ‘खाद्यान्न अभाव लगायतका समस्यामा झेलिरहेका सुत्केरी, अशक्तलगायतकालाई आवश्यता हेरेर घरमै खाद्यान्न पुर्याइने पनि उनले जानकारी दिए।

प्रवक्ता डंगोलले महानगरको घोषित नीति ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ र ‘काठमाडौ मानवियताको नगर’ अनुरुप राहत वितरण, सामुहिक भोजन सेवा, संक्रमण नियन्त्रण तथा रोकथाममा लागिपरेको बताए। 

सोही नीतिअनुसार मंसिर २ पछि खुलामञ्चलगायतका खुला ठाउँकोसट्टा पार्टी प्यालेस वा बन्द संरचनाभित्र खाना वितरणका लागि समेत सामाजिक संघ संस्था समन्वय गरिने जनाएको छ। यसका लागि महानगरको सामाजिक संघ सस्थासँग सहमतिसमेत भैसकेको छ। 
 

कात्तिक २८, २०७७ शुक्रबार १७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।