कार्यसूची बनाएर छलफल गर्ने नेकपा सचिवालय बैठकको निर्णय

कार्यसूची बनाएर छलफल गर्ने नेकपा सचिवालय बैठकको निर्णय
तस्विर : सूर्य थापाको ट्वीटरबाट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीमा उत्पन्न संकट र समस्या समाधानका लागि कार्यसूची  बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक केहीबेरमा सकिएको छ।   

बैठकपछि सञ्चारकर्मीसँग बैठकका बारेमा बिफ्रिङ गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले उक्त निष्कर्ष निकालेको जानकारी दिएका हुन्।

बैठक मंसिर ३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको उनले बताए।

बैठकमा दाहालले पार्टीको संकटबारे तयार पारेको राजनीतिक प्रतिवेदन सबै सदस्यलाई दिइएको छ। 

बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको बुझिएको छ। 

दाहालसहित माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र बामदेव गौतमसहितका ५ जना नेताले बैठक बोलाउन दवाब दिँदै आए पनि ओलीले त्यसलाई टार्दै आएका थिए।

उनीहरुले पछिल्लो पटक लिखितरुपमा नै ओलीलाई बैठक बोलाउन पत्र पठाएपछि ओलीले शुक्रबारको लागि बैठक बोलाएका थिए।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतको नियुक्तीको सिफारिस, कर्णाली प्रदेशको विवाद र पर्सामा आफ्ना कार्यकर्ताको हत्याकाण्डपछि उत्पन्न नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो।

बहुमत सचिवालय सदस्यहरुले प्रधानमन्त्री ओलीले पार्टीलाई एकलौटी ढंगले अगाडि बढाएको, सरकारले जनपक्षीय काम गर्न नसकेको आरोप लगाउँदै आएका छन्।

कात्तिक २८, २०७७ शुक्रबार १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।