लोकल कुखुराको मूल्य स्थिर, बोइलरको थपघट
बोइलर कुखुराको मासुको माग भए पनि किसान सस्तोमा बेच्न बाध्य छन्। बिचौलिया र मासु व्यावसायीका कारण मूल्य थपघट भइरहेपछि लागतसमेत उठ्न नसकेको किसान बताउँछन्।
लागतसमेत उठाउन नसकेपछि कतिपय किसान पलायन भएका छन्। कतिपय भने लोकल कुखुरापालनमा लागेका छन्। किसानले अहिले जिउँदो बोइलर कुखुरा प्रतिकिलो १७० देखि १८० रूपैयाँसम्म र लोकल कुखुरा ५ सयदेखि ७ सय रूपैयाँसम्म बिक्री गर्दै आएका छन्।
मासु व्यावसायीले बजारमा बोइलरको मासु प्रतिकिलो ३२० र लोकलको मासु ८ सय रूपैयाँमा विक्री गर्छन्। ‘व्यवसायीमा सस्तोमा किसानसँग कुखुरा खरिद गर्ने अनि महँगोमा मासु बिक्री गर्ने बानी नै परिसक्यो। व्यावसायी सधै फाइदामा तर किसान सधैं घाटामा छन्,’ बोइलरपालक रामकेवल यादवले भने।
लोकल कुखुराको मूल्य प्रायः स्थिर नै भइरहन्छ। तर, बोइलरको भने थपघट हुन्छ। ४५ दिनमै बिक्रीका लागि तयार हुने भएकाले बोइलर लामो समय पालिराख्दा किसानलाई घाटा हुन्छ। तर, लोकल कुखुरा चार महिनामा तयार हुने भए पनि वर्षदिनसम्म पाल्दासमेत किसानलाई घाटा हुँदैन। जिउँदो बोइलर कम्तीमा प्रतिकिलो १६० रूपैयाँमा बिक्री गर्न सकेपछि बल्ल किसानको लागत उठ्छ।
समयमै बिक्री नभएपछि बोइलर कुखुरापालक किसान घाटामा जाने थाहा पाएका मासु व्यावसायी र बिचौलियाले किसानको लागतसमेत दिँदैनन्। यतिसम्मकी लकडाउनका बेला किसानले प्रतिकिलो ११० रूपैयाँमा पनि बोइलर बिक्री गर्न बाध्य भएका थिए।
सरकारले समर्थन मूल्य तोके पनि लागतसमेत नउठेपछि किसानले अहिले बोइलरको विकल्पमा लोकल कुखुरा पाल्न थालेको सैनामैनामा रहेको बुद्धनगर एग्रो फर्मका सञ्चालक लीलाबहादुर थापाले बताए।
सरकारले बोइलर कुखुराको समर्थन मूल्य तोक्ने गरेको भए पनि लोकल कुखुराको तोक्ने गरेको छैन। जिउँदो बोइलर कुखुरा प्रतिकिलो १७० रूपैयाँमा बिक्री गर्दा किसानलाई जम्मा १० रूपैयाँ मात्रै मुनाफा हुन्छ।
बजारीकरणका आधारमा १०–२० रूपैयाँ तलमाथि भए पनि लोकल कुखुराको मूल्य भने प्रतिकिलो ५ सयभन्दा तल झरेको रेकर्ड छैन। ‘पाँच सयमा बिक्री गर्दा पनि लोकल कुखुरा पाल्ने किसानलाई प्रतिकिलो सय रूपैयाँ मुनाफा हुन्छ। यसैले हामीले बोइलरलाई विस्थापन गरेर लोकल कुखुरा पाल्न थालेका छौं,’ थापाले भने।
रूपन्देहीमा दुई सयभन्दा बढी किसानले बोइलर पालन गर्दै आएका छन्। तर, सधैंजसो अस्थिर रहने बोइलर कुखुराको मूल्यका कारण लागतसमेत उठाउन नसकेको भन्दै कतिपय किसानहरू पलायन भए भने कतिपय लोकल कुखुरापालनप्रति आकर्षित भएका हुन्।
फर्ममा ह्याचरी राखेर ह्याच गरी बोइलरका चल्लासमेत उत्पादन गर्दै आएका किसानले अहिले लोकल कुखुराका चल्ला उत्पादन गर्न थालेका छन्। बोइलरका अण्डा उत्पादनमा समेत किसान अनिच्छुक हुँदै गएका छन्।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण चार महिनाभन्दा लामो समय भएको लकडाउनले गर्दा बोइलर बिक्री नभएपछि कयौं किसानले खाल्डो खनेर गाडे। लामो समय पाल्दा पनि घाटा नहुने र मुनाफासमेत राम्रो हुने भएपछि किसानहरू लोकल कुखुरापालनप्रति आकर्षित भएका हुन्। एकै प्रकृतिको व्यवसाय भए पनि लोकल र बोइलर कुखुराको मूल्यमा ठूलो अन्तर हुँदा बोइलरपालक किसान निरास छन्।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, रूपन्देहीका प्रमुख डा.परवेज आलमले पछिल्लो समय बोइलर पालन र अण्ड उत्पादक किसान पलायन हुने अवस्था आएको बताए। बोइलरको मूल्य नपाउँदा धेरै किसान निरास भइ लोकल कुखुरा, हाँस, टर्कीपालन तर्फ लागेको जनाए।
‘लोकल कुखुराको मूल्य बजारमा राम्रो छ। यसको मूल्य खासै घट्दैन। तर, बोइलरसँग प्रतिस्पर्धी नभएकाले हामीले मूल्य पनि तोक्न सकेका छैनौं,’ उनले भने, ‘बिस्तारै लोकल पनि मूल्य तोकियो भने बोइलर बढी बिक्री हुने हाम्रो अपेक्षा छ।’
कात्तिक २४, २०७७ सोमबार १०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।