दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि
असोज २३ देखि२५ गतेसम्म आयोजना हुने दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएको छ।
भर्चुअल माध्यमबाट हुने सम्मेलनको उद्घाटन शुक्रबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाइएको छ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा छलफलपत्र रहनेछन्।
विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि देखि विश्व ज्ञान सम्मेलन आयोजना हुन थालेको हो।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता डिबी क्षेत्रीले २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरु सहभागि हुने जनाए।
सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ।
विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुने जनाइएको छ।
साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।
गैरआवासीय नेपाली संघ (एनआरएनआर) को मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहने एनआरएनले जनाए छ।
प्रवक्ता क्षेत्रीले परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको सहभागी हुने बताए।
सम्मेलनको पहिलो दिन कृषि र खाद्य सुरक्षा, प्रविधीमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने छन्।
दोश्रो दिन प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधिनीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन्।
यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुनेछ।
अन्तिम दिन कार्यपत्रमाथि विषय विज्ञहरुले छलफल गर्ने, सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने कार्यक्रम छ।
सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने तय भएको आयोजकले जनाएको छ।
सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रुपमा प्रस्तुत गरिने छ।
असोज २२, २०७७ बिहीबार १२:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।