जिप पल्टिँदा वडाअध्यक्षसहित ५ जनाको मृत्यु
जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामचन्द्र रेग्मीका अनुसार जुनीचाँदे गाउँपालिका–१ स्थित अउल खोलामा भे १ ज ९३५ नम्बरको जिप पल्टिँदा सोही गाउँपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अमरबहादुर शाही, स्थानीय ६० वर्षीय कृतबहादुर शाही, अन्दाजी ३० वर्षीय खेमबहादुर शाही, वडा नम्बर ५ का अन्दाजी २९ वर्षीय कृष्णबहादुर शाही र अन्दाजी ३० वर्षीया मालिका बस्नेतको मृत्यु भएको हो।
उनीहरूको शव खोलामा तैरिरहेको अवस्थामा फेला परेको सहायक प्रजिअ रेग्मीले टेलिफोनमार्फत जानकारी दिए।
दुर्घटनामा परी १ जना घाइते छन्। घाइतेको उद्दार गरी जिल्ला अस्पताल लगिएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ।
यस्तै, दुर्घटनामा परि जिप चालकसहित दुई जना बेपत्ता रहेको जानकारी आएको सहायक प्रजिअ रेग्मीले बताए। उनीहरूको सनाखत हुन सकेको छैन।
सदरमुकाम खलंगाबाट गाउँपालिकातर्फ जाँदै गरेको जिपमा ८ जना सवार रहेको प्रारम्भिक जानकारी आएको प्रशासन कार्यालयले जनाएको छ।
असोज २१, २०७७ बुधबार १७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।