प्रदेशको नाममा भट्टराईको असन्तुष्टि
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले प्रदेश ५ को नामाकरणबारे असन्तुष्टि जनाएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रदेशको नाम जातीय आधारमा नराखेको भन्दै सहिदहरुसँग माफी मागेका छन्।
‘हिजो मगरात, तमुवान, ताम्सालिंग, नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी, गण्डकी, वागमतीका नाममा टेवल ठटाइरहेको देख्दा भूपीको पंक्ति याद आयो : ‘मरेर शहीद हुनेहरू हो, बाँचेर त हेर,बाँच्न झन् गाह्रो छ।’ सरी लली रोका, सुरेश वाग्ले,’ उनले भनेका छन्।
भट्टराईले प्रदेशको नाम नदी र भूगोलको आधारमा मात्र राखिएको तर, जाति र भाषाका आधारमा राख्न नहुने कहाँको संघीयता हो ? भन्दै प्रश्न गरेका छन् ।
‘हाम्रा प्रदेशका नाम नदी र भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति र भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद, लोकतन्त्र, संघीयता हो ?’ उनले भने, ‘अमेरिकामा अलास्का, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति र भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’
’प्रदेशसभाले मंगलबार प्रदेशको नाम ‘लुम्बिनी’ र राजधानी दाङको देउखुरी तोक्ने निर्णय पारित गरेको थियो।
असोज २१, २०७७ बुधबार ११:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।