बढी भाडा लिएर टिकट काट्ने ५ जना पक्राउ
काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाड पर्व लक्षित विशेष अप्रेशन थालेको छ।
चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाईदा उठाई बढी भाडा लिई टिकट काट्ने ५ जना लाई पक्राउ गरेको छ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ।
कोटेश्वर क्षेत्रको काउन्टरबाट बिमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादव पक्राउ परेका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको जानकारी दिए।
उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परेको यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने बताए।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु जस्तै बसेर टिकट काट्ने गरेको छ।
यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ।
पक्राउ पर्नेका लाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको महाशाखाले जनाएको छ।
असोज २०, २०७७ मंगलबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।