अनसनको २३ औँ दिन सरकारको चासो
काठमाडौं : अनसनरत डाक्टर गोविन्द केसी अनसन बसेको २३ औँ दिनमा सरकारले चासो देखाएको छ।
शिक्षा सचिव गोपीनाथ मैनालीसहित ३ जनाको सरकारी टोलीले डा. केसीलाई मंगलबार भेटि मागबारे चासो देखाएको हो।
डा.केसीका सहयोगी प्रितम सुवेदीका अनुसार टोलीले कतिपय माग पुरा हुने क्रममा रहकाले अनसन तोेड्न आग्रह गरेको थियो।
‘सरकारी टोलीले महामारीको समय भएकाले र कतिपय सम्झौता कार्यान्वयनका क्रममा रहेको भन्दै अनसन तोड्न आग्रह गरेको थियो’ सुवेदीले भने,‘जवाफमा केसीले औपचारीक रुपमा वार्ता टोली बनाएर माग पुरा भएको अवस्थामा वाहेक आफूले अनसन जारी राख्ने अडान राख्नु भएको छ।’
जीवन रक्षाका गर्न अपिल
यसैबीच राजनीतिकर्मी, अधिकारकर्मी तथा नागरिक अगुवाहरुले अनसनरत प्रा.डा.केसीको जीवन रक्षाको लागि सामुहिक अपील गरेका छन्।
१९ औँ अनसनको तीन हप्ता नाघिसक्दा पनि केसीकोे माग पुरा गर्न सरकार गम्भीर नभएको भन्दै ५० भन्दा बढी व्यक्तिहरुले डा. केसीको जीवन रक्षाका गर्न अपील गरेका हुन्।
उनीहरुले देशका उपेक्षित तथा उत्पीडित क्षेत्र र वर्गका जनतालाई सुलभ चिकित्सा सेवा र शिक्षाका माग राखेर बारम्बार अनसन बस्दासमेत बेवास्था गर्दै आएकोप्रति उनीहरुले आपत्ति जनाएका छन्।
अपील गर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (माले) का महासचिवसीपी मैनाली, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, मानव अधिकारवादी डा. मथुरा श्रेष्ठ, युवराज घिमिरे, पुरुषोत्तम दाहाल, युवराज सङ्ग्रौला, बोर्ण बहादुर कार्की, एकराज भण्डारी, गौरी प्रधानलगायतका छन्।
उनीहरुले विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गरेका छन्। केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दासमेत सरकार संवेदनशिल बन्न नसकेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
असोज २०, २०७७ मंगलबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।