मन्त्रीले ‘माल’ मागेपछि...
विराटनगर विमानस्थलको स्तरोन्नति हुने कुराले उत्साहित उनीहरु ‘माल’का कुराले झस्किए।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीकै माहौलमा सोमबार अपराह्न विराटनगरस्थित होटल स्टनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भट्टराईले उद्घाटन मन्तव्यको क्रममा भनेका थिए, ‘विमानस्थल बनेर, ठूला प्लेन चलेर मात्रै हुँदैन। तपाईंहरूले जसरी पनि माल दिनुपर्छ।’
मन्त्रीले उद्योगी व्यापारीसँग हाकाहाकी ‘माल’ मागेपछि कार्यक्रमको माहौल परिवर्तन भयो। सहभागीहरु अलमलमा परेका मनोभाव, एक आपसमा मुखामुख गरेको स्पष्ट देखियो।
मालको सोझो अर्थ आर्थिक तर गोप्य लेनदेन भनेर बुझेका उनीहरु अलमलिनु स्वभाविक नै थियो। तर, यस्तो अप्ठारो अवस्था लामो समयसम्म रहन पाएन।
सहभागी अन्योल भएको थाहा पाउनेबित्तिकै भट्टराईले आफूलाई सच्याउँदै मालको व्याख्या गरे । उनले खुलासा गरे, ‘माल’ भनेको जहाजले बोक्ने कार्गो सामान हो।
‘विमानस्थल बनेर अन्तराष्ट्रिय फ्लाइट चल्न थालेपछि विदेश निर्यात गर्ने माल उत्पादन गर्नुपर्छ’,’ भट्टराईले भने, ‘कार्गोबिना मानिस मात्रै वोकेर ठूला विमान सञ्चालन गर्न सकिंदैन।’
उनले प्रदेश १ बाट भारत, भुटान, बंगलादेश, श्रीलङ्का लगायतका देशमा सिधा हवाई सेवा सञ्चालन गर्ने सम्भावना रहेको बताए।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ प्रदेश १, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङका पदाधिकारी तथा प्रदेश १ का उद्योगी व्यवसायी र पर्यटन व्यवसायीहरू सहभागी थिए।
कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई दीर्घकालीन सोचका आधारमा विस्तार गरी ३ किलोमिटर लामो रन वे निर्माण गर्न लागिएको जानकारी दिए। विराटनगर विमानस्थल प्रदेश १ को विकासको आधार समेत भएको उनले बताए।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश र संघीय सरकारसँग साझेदारी गर्दै विकास निर्माणका कामलाई अगाडि बढाउन विराटनगर महानगरपालिका तत्पर रहेको बताए।
विराटनगर विमानस्थल निर्माणका लागि नागरिक उड्ययन प्राधिकरण, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाबीच समझदारी भएको हो।
तीन तहका सरकारबीचको समझदारी अनुसार जग्गा अधिकरणदेखि पूर्वाधार निर्माणसम्ममा प्राधिकरणले लागतको ५० प्रतिशत, प्रदेश १ सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत बेहोर्ने भएका छन्।
समझदारीपत्रमा प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल र नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गरेका थिए।

विराटनगर विमानस्थललाई विस्तार गरी तीन हजार मिटर लामो रन वे बनाउने र प्रदेशका सबै विमानस्थलमा विराटनगरबाटै उडान भर्ने साथै अन्तर्राष्ट्रिय उडानसमेत सञ्चालन गर्ने योजना छ। विमानस्थल विस्तारका लागि गुरुयोजनासमेत तयार भइसकेको छ।
असोज १९, २०७७ सोमबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।