महिलाले महिलासँग बिहे गर्छु भनेपछि...

महिलाले महिलासँग बिहे गर्छु भनेपछि...

लन्डनको नागरिकको नाममा नक्कली फेसबुक आईडी बनाएर नेपाली महिलालाई ठग्ने नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको छ।

आफु लन्डनको नागरिक हु भन्दै विहे गर्ने विश्वास दिलाएर ठगी गर्ने २१ वर्षीया सीता भुषाललाई महानगरीय अपराध महाशाखाको टोलीले सोमवार पक्राउ गरेको हो।

रुपन्देहीको सैनामैना-११ घर भई काठमाडौं चन्द्रागिरी-७ गुर्जुधारा बस्ने भुषालले अनलाइनबाटै थुप्रैलाई ठगी गरेको खुलेको महाशाखाका प्रवक्ता एसपी ईशवर कार्कीले जानकारी दिए।

कार्कीका अनुसार भुषालले डाक्टर जेमिस सोनार र जेम्स एन्डी नामको फेक आइडीबाट साथी बनाएर विहे गर्ने प्रलोभन देखाइ ठग्ने गरेको खुलेको छ। फेसबुकमा साथी बनेकाहरुलाई जन्म दिनको उपहारको रुपमा सुनको सिक्री र २० हजार अमेरिकन डलर पठाएको छु भनेर रकम ठगी गरेको खुलेको कार्कीले बताए। 

ठगीमा पर्ने दुई महिलाले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको कार्कीले जानकारी दिए। भुषालको खातामा रकमको कारोबार हेर्दा २०-२५ जना भन्दा बढीलाई ठगेको आशंका कार्कीले गरे।

भुषालको ठगीबारे थप अनुसन्धान भैरहेको कार्कीले जानकारी दिए। अनलाइन ठगीमा ठूलै गिरोह नै सक्रिए हुन सक्ने कार्कीले बताए। सामाजिक संजाल फेसबुक, इमो, भाईबर, ह्वाट्एपको माध्ययमबाट महंगा सामानहरु सस्तोमा दिने तथा चिट्ठा परेको नाममा ठगी गर्नेक्रम बढेको छ।

महाशाखाले चिट्ठा परेको तथा महंगा सामान सस्तोमा दिने प्रलोभन देखाएमा विश्वास नगर्न अनुरोध गरेको छ। महाशाखामा अनलाइन ठगीका उजुरीहरु दिनहुजसो आउने गरेका छन्।

असोज १९, २०७७ सोमबार १९:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।