मुख्यमन्त्री अनुपस्थित भएपछि नेकपा बैठक अन्योल

मुख्यमन्त्री अनुपस्थित भएपछि नेकपा बैठक अन्योल

भैरहवा : राजधानी सार्ने प्रस्तावबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमबार बिहान बोलाएको प्रदेश ५ संसदीय दलको बैठक अझै बस्न सकेको छैन। 

मुख्यमन्त्री शंकर पोखरेल बैठकमा उपस्थित नभएपछि बैठक बस्न नसकेको नेकपाका एक सांसदले जानकारी दिए। बैठक बिहान ७ बजेका लागि बोलाइएको थियो। 

ती सांसदका अनुसार अहिलेसम्म नेकपामा २२ जना मात्रै सांसद प्रदेश संसदीय कार्यालयमा पुगेका छन्। मुख्यमन्त्री उपस्थित नभएपछि मन्त्रीहरू पनि संसदीय कार्यालय नगएको बताइएको छ। 

प्रदेश ५ को संसदमा नेकपाका ६० सांसद छन्।

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्रमा सार्न प्रस्ताव प्रदेश सभामा गरेपछि त्यसको विरोध भइरहेको छ। ययसविरुद्ध नेकपासँगै  नेपाली कांग्रेस जिल्ला समितिले विरोध जनाइरहेका छन्। राजधानी सार्ने प्रस्तावको विरोधमा कांग्रेसले आइतबार रूपन्देही बन्दको आह्वानसमेत गरेको छ। बुटवलका विभिन्न ठाउँमा प्रदर्शनसमेत गरिएका छन्। 

आज विभिन्न संघसंस्थाले लुम्बिनी अञ्चलका ६ जिल्ला बन्दको आह्वान गरेका छन्। 

आज दिउँसो १२ बजे बस्ने प्रदेश सभाको बैठकमा स्थायी राजधानीबारे छलफल हुँदै छ। आन्तरिक छलफलका लागि भन्दै काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडिया लगायत संसद भवन पुगेका छन्। 

बुटवलको सुरक्षा व्यवस्था कडा

बुटवलको सुरक्षा व्यवस्था सोमबार बिहानैदेखि कडा बनाइएको छ। बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी व्यापक परिचालन गरिएको छ। 

बिहानैदेखि धर्ना सुरु भएपछि यहाँ सुरक्षा कडा बनाइएको रूपन्देही प्रहरी प्रमुख एवं एसपी प्रवीण पोखरेलले जानकारी दिए। 
 
राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शनकारीले गत आइतबार गौतमबुद्ध विमानस्थलबाट फर्किरहेका मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरि ढुंगा प्रहार गरेका थिए। ढुंगा प्रहारबाट मुख्यमन्त्रीको गाडीलाई स्कटिङ गरिरहेका दुई गाडीमा क्षति पुगेको छ। 

उक्त घटनापछि सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। 

असोज १९, २०७७ सोमबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।