बुटवलमा मुख्यमन्त्री सवार गाडी लक्षित गरी ढुंगा प्रहार, ६ कांग्रेस नेतासहित ९ पक्राउ

बुटवलमा मुख्यमन्त्री सवार गाडी लक्षित गरी ढुंगा प्रहार, ६ कांग्रेस नेतासहित ९ पक्राउ

भैरहवा : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीलाई लक्षित गरी बुटवलमा ढुंगा प्रहार गरिएको छ। 
 

प्रदेश राजधानी दाङ सार्ने प्रस्तावको विरोधमा उत्रिएका प्रदर्शनकारीले गौतमबुद्ध विमानस्थलबाट बुटवल फर्कदै गरेका मुख्यमन्त्री पोखरेल सवार गाडीलाई लक्षित गरी मिलन चोक नजिकै ढुंगा प्रहार गरेका हुन्।

काठमाडौंबाट जहाजमा आएका मुख्यमन्त्री पोखरेल आइतबार साँझ ६ बजे विमानस्थल ओर्लिएका थिए। उनलाई त्यहाँबाट कडा सुरक्षाबीच ल्याइएको थियो। 

प्रदेश ५ का डिआइजी रवीन्द्र धानुकका अनुसार ढुंगा प्रहारबाट मुख्यमन्त्रीको स्कटिङमा रहेका प्रहरीका दुई गाडीमा क्षति पुगेको छ। प्रहरीका अनुसार ढुंगा प्रहारबाट गाडीको सिसा फुटेको छ। 

गाडी तोडफोड भएपछि प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेको स्थानीयले बताएका छन्। 

प्रदेश सभामा प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउने प्रस्ताव पेश गरिएपछि बुटवलमा विरोध भइरहेको छ। नेपाली कांग्रेस जिल्ला समितिले आज रुपन्देही बन्द गरेको छ। 

विरोध प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुटवलमा निषेधाज्ञासमेत जारी गरेको छ। 

६ जना कांग्रेस नेतासहित ९ पक्राउ

ढुंगा प्रहारको आरोपमा प्रहरीले ६ जना कांग्रेस नेतासहित ९ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कांग्रेस नेताहरु विष्णु पोख्रेल, मुक्ति पौडेल, हरिलाल पाण्डे, शिव गैरे, प्रकाश गैरे र ज्ञानेन्द्रबहादुर कार्की पक्राउ परेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

स्थायी राजधानी तोक्ने विषयमा सोमबार प्रदेश सभामा मतदान हुँदैछ।

असोज १८, २०७७ आइतबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।