डा. केसीको जीवन रक्षा गर्न देउवाको अपील
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनसनरत डा. गोविन्द केसीको अवस्था नाजुक बन्दा पनि सरकारले कुनै ध्यान नदिएको भन्दै उनको जीवन रक्षा गर्न अपील गरेका छन्।
अनसनको २१ औं दिन पुग्दा सम्म डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै देउवाले केसीसँग अविलम्व वार्ता गरी माग पूरा गरेर जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई सार्वजनिक अपील गरेका छन्।
आइतबार विज्ञप्ती प्रकाशित गर्दै देउवाले सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर भएको औंल्याएका छन्।
‘चिकित्सा शिक्षामा सुधार देखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरु केवल एक व्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन्’ देउवाले विज्ञप्तीमा भनेका छन्,‘जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो तर, सरकारले सुरूवातमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरीत्रलाई पुष्टि गरेको छ।’
वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा.केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको आरोप देउवाले लगाएका छन्।
देउवाले फेरि पनि संवादमार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमानदारीता प्रस्तुत गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
तत्काल केसीसँग वार्तागरी मागहरु पुरा गर्न भन्दै देउवाले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनी समेत दिएका छन्।
असोज १८, २०७७ आइतबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।