६० लाख कमाउने लोभमा प्रहरीको खोरमा

६० लाख कमाउने लोभमा प्रहरीको खोरमा

काठमाडौं : आइतबार बिहान स्वयम्भू क्षेत्रमा प्रतिवन्धित पाटे बाघको छाला अवैध रुपमा विक्री भैरहेको सुचना प्रहरीकँहा पुग्यो।

सुचना प्राप्त हुनेवित्तिकै महानगरीय अपराध महाशाखाको टोली त्यस क्षेत्रमा खटियो।

उक्त छाला होटलमा लुकाई राखेको सुचनाका आधारमा महाशाखाको टोलीले काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित होटल प्लाजामा छापा मार्यो। 

होटलको कोठा नं. २०८ मा लुकाई राखेको अवस्थामा ९ फिट लम्बाई र २ फिट २ ईन्च चौडाई भएको छाला फेला पर्यो।

छालासँगै टोलीले चार जनालाई पनि पक्राउ गर्यो। पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिका–५ घरभई गोलढुंगा बस्ने ४३ वर्षीय टेक बहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय सुजन थिङ, २७ वर्षीय आशिष तामाङ, र मकवानपुर थाहा नगरपालिका–८ का २४ वर्षीय सानुकान्छा थिङ छन्।

टेकबहादुर ज्यामी काम गर्छन भने सुजन डुनट व्यापारी हुन्। यस्तै आशिष कृषक र सानुकान्छा सवारी चालक रहेको महाशाखाले जनाएको छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले उक्त छाला ६० लाख रुपैयाँमा विक्री गर्ने योजना रहेको खुलेको बताए।

‘उक्त छाला ६० लाखमा विक्री गरेर बाँडेर खाने र दसैँ मनाउने योजना बुनिएको प्रारमम्भिक अनुसन्धानबाट खुलेको छ’ कार्कीले भने,‘टेकबहादुरले धादिङकै एक स्थानीयबाट ३५ लाखमा खरिद गरी ल्याएको बुझिएको छ।’

छाला खरिद गर्न धादिङकै अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकोसमेत कार्कीले जानकारी दिए।

महाशाखाले आवश्यक छानविन र कारवाहीका लागि छालसहित चारै जनालाई आइतबार नै डिभिजन वन कार्यालय काठमाडौंमा पठाइएको जनाएको छ। 
 

असोज १८, २०७७ आइतबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।