निषेधाज्ञाबीच बुटवलमा प्रदर्शन, जनजीवन प्रभावित
भैरहवा : जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाबीच आइतबार बुटवलमा प्रदर्शन जारी छ। व्यवसायिक संघसंस्थाले निषेधाज्ञाबीच पनि प्रदर्शन जारी राखेका हुन्।
नेपाली कांग्रेस रुपन्देहीले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ।
व्यवसायीले संयुक्त संघर्ष समितिको नाममा प्रदर्शन गरेका हुन्। प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्न प्रस्ताव पेस गरेपछि शुक्रबार देखि उद्योगी व्यवसायी र कांग्रेस आन्दोलित भएको हो।
बन्दका कारण जिल्लाका मुख्य सडकमा सार्वजनिक यातायात चलेका छैनन्। निजी सवारी र भित्री सडकमा छिटफुट सवारी भने चलेका छन्।
विरोध प्रदर्शनमा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले कुनै पनि हालतमा प्रदेश राजधानी सार्न नदिने बताए।

प्रस्ताव फिर्ता नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्ने उनले जनाए। प्रदर्शनकारीले ‘नेताहरू होसियार, अर्को चुनावमा भोट चाहिन्छ कि चाहिँदैन’ लगायतका नारा लगाएका थिए।
बुटवल बजारमा र्याली गरेपछि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रदर्शनसँगै बुटवलका ठाउँठाउँमा टायर बालेर राजधानी सार्ने निर्णयको विरोध गरिएको थियो।
राजधानी सार्ने निर्णयविरुद्ध बुटवललगायत सैनामैना, देवदह क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ।.jpg)
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही क्षेत्रमा आइतबार बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्तावमा सहमति जुटाउन नेकपा संसदीय दलले आइतबार मध्याह्न १२ बजेलाई सर्वदलीय बैठक डाकेको छ।

बैठकमा कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य सहभागी हुने नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।
सर्वदलीय बैठक डाकेर छलफल गराउन निर्देशन दिएर मुख्यमन्त्री शंकर पोखरेल भने शनिबार नै काठमाडौं पुगेका छन्।
प्रदेशसभामा विपक्षी दलका नेता कांग्रेसका वीरेन्द्रप्रसाद कनौडियाले छलफलमा सहभागी भएर आफ्ना विचार व्यक्त गर्ने र विरोध जारी राख्ने बताए।
शनिबार बुटवल उद्योग बाणिज्य संघमा बसेको रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको सञ्जालको बैठकले राजधानी सार्ने निर्णयको बिरोध गर्दै सरकारलाई फिर्ता गर्न दवाव सिर्जनाका लागि १५ सदस्सीय संघर्ष समिति समेत गठन गरेको थियो।
संघर्षसमितले दिउँसो मुख्यमन्त्री तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, सोमबार बस्ने प्रदेश सभा बैठकलाई प्रभावित पार्नेगरी संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले जानकारी दिए।
यस्तै, व्यवसायीले सोमबार नै प्रदेश ५ अन्तर्गत पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्द गर्न आह्वान गरेको छ।
असोज १८, २०७७ आइतबार ११:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।