जापानको रोजगारी खुलाउँदै सरकार
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विगत ७ महिना देखि कारोना महामारीका कारणा कानुनी प्रक्रिया रोकिएपछि स्थगित भएको जापानको रोजगारी पुन सुचारु गर्ने प्रक्रिया अघि बढाको हो।
जापान फाउन्डेसनले कामदार पठाउने प्रक्रिया शुरु गर्न सरकारसँग अनुरोध गरेपछि वैदेशिक रोजगार विभागले कानुनी प्रक्रिया मिलाई कामदार पठाउन काम सुरु गरेको छ।
विभागका निर्देशक टिकामणी नेउपानेले जापानले रोकिएका र नयाँ नेपाली कामदार लैजानेबारे ताकेता गरेको बताए।
नेपाल र जापान सरकारबीच नेपाली कामदार माग गर्ने सम्बन्धमा ‘सहयोग समझदारी’ भएपछि परीक्षामा सफल भएर पनि ७० नेपाली युवा जापान जान पाएका थिएनन्।
नेपाल र जापान सरकारबीच ‘स्पेसिफाईड स्किल वर्कर’ (एसएसडब्लु) प्रणालीमा कामदारहरु पठाउने सम्बन्धी एमओसीमा हस्ताक्षर भएबमोजिम चरणबद्ध रुपमा नेपाली कामदार लैजाने योजना अनुसार काम अगाडी बढाएको हो।
विभागले कामदार पठाउनका लागि एसएसडब्लु कार्यबिधि पारित गर्न मन्त्रालयलाई पत्राचार गरेको छ।
श्रमिक जापान पठाउने सम्बन्धमा विभागले २५ प्रतिशत कानुनी र सहजिकरणको मात्र भुमिका निर्वाह गर्नेछ।
परीक्षा, छनोट र सीप परीक्षणको काम भने जापान फाउन्डेसनले गर्दै आएको छ।
विभागमा यसअघि नै जापानको रोजगारी हेर्ने छुट्टै युनिट नै स्थापना गरेर काम अघि बढाइएपनि श्रमिक भने जान पाएका थिएनन्।
जापानले नेपालसहित अन्य ९ मुलुकबाट विभिन्न १४ क्षेत्रमा विदेशी श्रमिक माग गर्ने जनाउँदै नेपाललाई पनि कोटा दिने जनाएको थियो।
पहिलो चरणमा नेपालबाट केयरगिभर क्षेत्रमा एक हजार भन्दा बढी युवा लैजाने योजना थियो।
जापानले ५ वर्षमा तोकिएका देशबाट चार लाख ५० हजार विदेशी कामदार लिने जनाएको छ।
त्यहाँ जान जापानी भाषा परीक्षामा एन ४ तहको भाषा पास गरी तोकिएको सीप हाँसिल गर्नुपर्ने छ।
यो सीप रोजगारीका क्षेत्र अनुसार फरकफरक रहेको छ।
जापानले कृषि, उद्योग, पर्यटन, होटल, रेस्टुरेन्ट, सेवा, मत्स्यपालन लगायतका १४ क्षेत्रमा सोही अनुसारको सीप र दक्षता भएका कामदार लिने जनाउँदै आएको छ।
असोज १५, २०७७ बिहीबार १७:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।