कृषि प्रविधि भित्र्याउन र कामदार लैजान सम्झौता

कृषि प्रविधि भित्र्याउन र कामदार लैजान सम्झौता

काठमाडौं : नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ।
 

बुधबार नेपाल र इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्यले जानकारी दिइन्।

समझदारीपत्रमा नेपालको तर्फबाट राजदूत शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका हुन्।  

इजरायली अन्तराष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। मसाभ इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था हो।

नेपालको तर्फबाट हस्ताक्षर गर्न असोज ११ गते बसेको मन्त्रिपरिषद् बैठकले  निर्णय गरेर राजदूत शाक्यलाई अनुमति दिएको थियो।

गत मंसिरमा राजदूत शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा मसाभ प्रमुख गील हासकेलको टोली नेपाल भ्रमणमा आएको थियो।

पाँच दिनको नेपाल बसाइपछि स्वदेश फर्किएको सो टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्री लगायतसँग भेट गरेको थियो। 

विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो।

मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सिलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सिलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएको थियो।

राजदूत शाक्यले आफूले जिम्मेवारी सम्हालेर इजरायल आएदेखि नै यो विषयमा निरन्तर पहल गरेको बताइन्।

शाक्यले कृषि प्रधान देश नेपालका लागि यो ठूलो उपलब्धी भएको बताइन्। सम्झौताबाट स्वदेश र विदेशमा रहेका नेपाली युवाका लागि रोजगारीका अवसर प्राप्त हुने र नेपाललाई कृषिमा आत्मनिर्भर हुन प्रविधि हस्तान्तरले ठूलो योगदान दिने उनले विश्वास व्यक्त गरिन्।

यस्तै बुधबार नै नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ मा पनि हस्ताक्षर भएको छ। 

सम्झौता पछि इजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीलाई रोजगारी प्रदान गर्ने छ।

असोज १५, २०७७ बिहीबार ११:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।