कोलकातासँग राजस्थान ३७ रनले पराजित 

कोलकातासँग राजस्थान ३७ रनले पराजित 
खेल सकिएपछि हात मिलाउँदै कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम। 

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्स कोलकाता नाइट राइडर्ससँग ३७ रनले पराजित भएको छ। 

संयुक्त अरब इमिरेट्स (युएई)मा बुधबार अबेर राति सम्पन्न खेलमा एक सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर एक सय ३७ रन मात्रै जोड्न सक्यो। 

राजस्थानका लागि टोम कुरानले अविजित रहँदै ५४ रन जोडे। यस्तै, जोस बटलरले २१ र राहुल टेवाटिया १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। 

बलिङतर्फ कोलकाताका शिवम मावी, कमलेश नगरकोटी तथा बरुण चक्रवर्ती समान २ विकेट लिँदा सुनिल नरेन, प्याट कमिन्स र कुलदीप यादवले १/१ विकेट चट्काए। 

त्यसअघि टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो। 

कोलकाताका लागि शुभमान गिलले सर्वाधिक ४७ रन जोडेका थिए। यस्तै, आन्द्रे रसलले २४, नितिश रानाले २२ र सुनिल नरेनले १५ रनको योगदान दिए। इयान मोर्गन ३४ र कमलेश नगरकोटी ८ रनमा अविजित रहे। 

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चरले २ तथा अंकित राजपुत, जयदेव उनादकट र टोम कुरानले समान १ विकेट लिए। 

जारी प्रतियोगितामा राजस्थानको यो पहिलो हार हो। यसअघि राजस्थानले दुई खेल जितेको थियो। कोलकाताले भने यसअघि एक खेल जितेको थियो भने एकमा पराजित भएको थियो। 

क्रिकइन्फो डट कम

असोज १४, २०७७ बुधबार २३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।