महानगरका २६ पसललाई जरिवाना
काठमाडौं : काठमाडौं महानगरपालिकाले २६ पसललाई जरिवाना गराएको छ।
महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ले अनुगमनका क्रममा तोकिएको मापदण्ड पालना नगर्ने पसललाई जरिवाना गराएको हो।
समितिले मासिक बजार अनुगमनअन्तर्गत तरकारी, फलफूल र खाद्यका गरि एक सय २३ पसलको अनुगमन गरेको महानगरले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
तीमध्ये जरिवाना गराइएका पसलबाट १२ लाख ८७ हजार रूपैयाँ राजस्व संकलन भएको समितिले जनाएको छ।जरिवाना पर्नेले कम्तीमा १ हजार र बढीमा २ लाख ५५ हजार रूपैयाँ तिरेका छन्।
महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित समितिले काठमाडौंका कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी, कुलेश्वरको कोटेश्वर, बालाजु, वनस्थली, बत्तीसपुतली क्षेत्रका ठूला तरकारी बजार, खाद्य तथा होलसेल पसलमा अनुगमन गरिएको प्रतिवेदनमा उल्लेख छ।
अनुगमन टोलीले मूल्य सूची, व्यवसाय दर्ता र नवीकरण, नापतौलको प्रमाण पत्र, लेबलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रक्रिया, खाद्य अनुज्ञा पत्र भए/नभएको हेरेको थियो।
बजारमा खाद्य वस्तु, तरकारीमा अत्यधिक मूल्य बढेको गुनासो आएपछि अनुगमन गरिएको उपमेयर खड्की श्रेष्ठले बताइन्।
असोज १४, २०७७ बुधबार २१:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।