हिरासतमा मृत्युबारे संसदीय अध्ययन
जनकपुरधाम : देशभरका प्रहरी हिरासतमा मृत्यु भएको घटनाबारे संघीय सांसदको टोलीले अध्ययन थालेको छ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोलीले घटनाको स्थलगत अध्ययन थालेको हो।
देशका विभिन्न हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि घटनाको स्थलगत अध्ययनका लागि केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद शेरबहादुर तामाङको संयोजकत्वमा समिति गठन गरिएको थियो।
समितिमा जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया, नेपाली कांग्रेसका पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, नेकपाका लालबहादुर थापा र समीमा हुसैन सदस्य छन्।
टोलीले धनुषाको इलाका प्रहरी कार्यालय, सबैलाको प्रहरी हिरासतमा मृत भेटिएका २३ वर्षीय शम्भु सदाको घर पुगेर परिवारका सदस्यहरूसँग छलफल गरेको छ।
मृतक सदाको घर पुगेर उनकी आमा, पत्नीसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको समितिका सदस्य एवं धनुषाकै सांसद उमाशंकर अरगरियाले जानकारी दिए।
यस्तै, टोलीले नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि सदाको मृत्युबारे जानकारी लिएको छ।
सवारी ज्यान मुद्दामा पक्राउ परि हिरासतमा राखिएका सदा गत जेठ २७ प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। तर, परिवारका सदस्यहरूले शम्भुको हत्या भएको दाबी गरिरहेका छन्।
यस्तै, टोलीले उपचार अभावमा मृत्यु भएका हंसपुर नगरपालिकाका राजु सदाको घरमा समेत पुगेर परिवारजन तथा छिमेकीसँग छलफल गरेको छ।
इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने समिति सदस्य अगरियाले बताए।
असोज १४, २०७७ बुधबार १७:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।