घुस दिएर सर्वोत्कृष्ट हुनेलाई कैद सजाय

घुस दिएर सर्वोत्कृष्ट हुनेलाई कैद सजाय

काठमाडौं : विशेष अदालतले त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा घुस दिएर सर्वोत्कृष्ट भएका सुरेन्द्रप्रसाद कोइरालालाई १४ महिना कैद र चार लाख ५७ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।

विशेषका न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले असोज १३ गते उक्त सजाय र जरिवानाको फैसला सुनाएको हो।

विशेष अदालतका उपसचिव पुष्पराज पाण्डेका अनुसार त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय मानविकी संकायतर्फको

स्नातकोत्तर गोप्य शाखामा कार्यरत एक शाखा अधिकृतसहित दुई जनालाईसमेत कैद र जरिवानाको फैसला सुनाइएको छ।

शाखा अधिकृत रामबहादुर कर्माचार्यलाई ११ महिना कैद र एक लाख ५५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ।  

कोइरालाले कर्माचार्यलाई एक लाख ५० हजार रुपैयाँ घुस दिएर आफ्नो प्राप्तांक बढाउन लगाएका थिए। 

यस्तै केदार भट्टराईलाई पनि ११ महिना कैद र तीन लाख पाँच हजार रुपैयाँ जरिवानको फैसला भएको पाण्डेले जानकारी दिए।

कर्माचार्यले भट्टराईबाट पनि तीन लाख घुस लिएर उनको एमए अर्थशास्त्र संकायको पाँच वटा विषयमा १०–१० नम्बरको दरले ५० अंक थप गरिदिएका थिए। 

कोइरालाले एमए ग्रामीण विकासको परीक्षामा पनि त्यसैगरी नम्बर थप्न लगाएर प्रथम श्रेणी प्राप्त गरेका थिए भने एमए समाजशास्त्रको परीक्षामा अनुपस्थित हुँदाहुँदै पनि उत्तीर्ण भएका थिए। 

कोइरालाले एमएमा अर्थशास्त्र, ग्रामीण विकास र समाजशास्त्र संकायका १५ वटा विषयमा ३ नम्बरदेखि ५० नम्बरसम्म थप गर्न लगाएर कुल २ सय २४ अंक थप गराएका थिए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थशास्त्र स्नातकोत्तरमा स्वर्ण पदक ल्याउने उद्देश्यले अंक थप गराई प्रथम श्रेणीमा उत्तीर्ण गरेको भन्दै मुद्धा दर्ता गराएको थियो।
 

असोज १४, २०७७ बुधबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।