आँधीखोला जलविद्युतबारे दुई मन्त्रीबीच छलफल

आँधीखोला जलविद्युतबारे दुई मन्त्रीबीच छलफल

काठमाडौं  : आँधीखोला प्रस्तावित जलविद्युत आयोजनाको विषयमा दुई मन्त्रीबीच छलफल भएको छ। 

आयोजनाबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल र ऊर्जामन्त्री वर्षमान पुनबीच छलफल भएको हो।

मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएको स्थानीय सरकारहरुका प्रमुखहरुसहित सरोकारवालाको डेलिगेशन टोलीले जलविद्युत आयोजनाको सम्भावना र हालसम्म भएका प्रगति बारेमा उर्जा मन्त्रालयमा छलफल गरेको हो। 

छलफलमा मन्त्री अर्यालले जलस्रोतलाई प्रयोग गरेर नेपाल बनाउने अभियान अहिले नै गर्नु पर्ने बताइन्। 

अबको १० वर्षपछि जलस्रोत प्रयोग गरेर बनाउने परियोजनाको सम्भावना नहुनसक्ने भन्दै मन्त्री अर्यालले आयोजनाको सम्भावनाबारे अध्ययन गरेर निष्कर्ष निकाल्न आग्रह गरिन्।

‘आयोजना निर्माण गर्ने हो भने छिट्टै गर्नुपर्छ। यसको महत्व कम हुँदै गएको बेला पछि बनाउँदा अर्थ रहँदैन’ मन्त्री अर्यालले भनिन्।

जवाफमा उर्जामन्त्री पुनले आँधिखोला आयोजनाको अध्ययनमा समय लागेको र प्रतिवेदन आइनसकेको जानकारी दिए।

आयोजना उपयुक्त छ छैन भन्ने बारेको प्रतिवेदन छिटो आउनुपर्नेमा उनको जोड थियो।

अध्ययन पुरा भएपश्चात सरकारले आयोजनालाई नीजि क्षेत्रको जिम्मा दिएर व्यवसायिक बनाउनुपर्ने भएमा नीजि क्षेत्रलाई आह्वान गर्ने उनको भनाई थियो।

मन्त्री पुनले बजार नहुँदा आयोजना निर्माणमा अन्यौलता हुने गरेको बताए।

आगामी १० वर्षमा सरकारले १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने भन्दै मन्त्री पुनले १० हजार मेगावाट आफैले प्रयोग गरेर बाँकी उत्पादन क्षेत्रीय बजार भारत र बङ्गलादेशमा बिक्री गरिने बताए।

छलफलमा नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणले लामो समयदेखि अध्ययन गरेको आँधिखोला जलविद्युत आयोजनाको कन्सेप्टमा १ सय ८० मेगावाट उत्पादन क्षमाता देखिएको जानकारी दिए।

अध्ययनकै क्रममा रहेकोले आयोजनाबारेका अन्य बिषय विस्तृत प्रतिवेदन पछि मात्र भन्न सकिने उनको भनाई थियो। 
 

असोज १४, २०७७ बुधबार १५:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।