बाघको आक्रमणबाट एकको मृत्यु, दुई घाइते 

बाघको आक्रमणबाट एकको मृत्यु, दुई घाइते 
सांकेतिक तस्बिर।

जनकपुरधाम : रौतहटमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन्।
 

इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको जानकारी दिए। 

भण्डारीको शव चन्द्रपुरबाट पश्चिम क्षेत्रमा पर्ने जंगलको खोल्सामा  हिजो (मंगलबार) अबेर राति भेटिएको हो। 

भण्डारीको शव कम्मरभन्दा तलको भाग बाघले खाइसकेको अवस्थामा  भेटिएको डिभिजन वन कार्यालयका फरेस्टर शम्भु महतोले बताए। 

भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएका थिए। 

उनी राति अबेरसम्म नफर्केपछि खोज्न गएकामध्ये दुई जनालाई बाघले आक्रमण गरि घाइते बनाएको थियो। उनीहरू चन्द्रपुर अस्पतालमा प्राथमिक उपचारपछि मंगलबार राति नै घर फर्केका छन्।

भण्डारीलाई खोज्न नेपाल प्रहरी, ससस्त्र प्रहरी, वनरक्षक, रंगपुर साझेदारी उपभोक्ता समूह र स्थानीय गरि सयभन्दा बढी परिचालित भएका थिए।

रौतहटमा बाघको आक्रमणबाट मानिसको ज्यान गएको पहिलो घटना भएको डिभिजन वन कार्यालयले जनाएको छ। 

असोज १४, २०७७ बुधबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।