चाडपर्वलक्षित ‘सेफ्टी पिन’ अभियान
काठमाडौ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले चाडपर्वलाई लक्षित गरी ‘सेफ्टी पिन’ अभियान सुरु गरेको छ।
प्रहरीले दशैँ तिहारलगायतका चाडपर्वको समयमा उपत्यकाका भीडभाड हुने क्षेत्रहरू, व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रहरूलाई लक्षित गरी यो अभियान सुरु गरेको हो।
मंगलबारबाट सुरु भएको अभियानमा उपत्यकाका विभिन्न स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले जानकारी दिए।
डिआईजी पोखरेलले सार्वजनिक सवारी र सार्वजनिक स्थानहरूमा महिला माथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनिकरण, समस्यामा रहेका व्यक्तिहरूलाई सेवा प्रवाह, चोरी, ठगी तथा पाकेटमारी लगायतका गतिविधिलाई नियन्त्रण गर्न अभियान सञ्चालन गरिएको बताए।
अभियानमा महिला तथा वालबालिकामाथि हुनसक्ने विभिन्न प्रकारका यौन तथा लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणका लागि महिला प्रहरी निरीक्षकसहितको टोलीलाई २४ सै घण्टा उपत्यकामा परिचालन गरिने महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
महानगरीय प्रहरी कार्यालयले प्रत्येक बर्ष दशैँ तिहार लगायतका चाडपर्व र आवश्यकता अनुसार यो अभियान सञ्चालन गर्दै आएको छ।
असोज १४, २०७७ बुधबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।