२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौं : आगामी मंसिर ११ र १२ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ।
यसअघि यो कार्यक्रम कात्तिक २ र ३ गते तय गरिएको थियो। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. भिमसिंह तिंकरीले मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम तय भएको जानकारी दिए।
देशभरका ६ देखि ५९ महिना उमेर समुहका बालबालिकाहरूलाई भिटामिन ‘ए’, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व ‘बालभिटा’ खुवाउने स्वास्थ्य सेवा विभागको तयारी छ।
परिवार कल्याण महाशाखाकाअनुसार देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’, ६ लाख बालबालिकालाई बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ।
भिटामिन ‘ए’ किन खुवाउने ?
चिकित्सकहरुका अनुसार मानव शरीरको वृद्धि, विकास र स्वास्थ्यका लागि आवश्यक पर्ने रासायनिक यौगिक भिटामिन हो।
भिटामिन ‘ए’ भएका तत्वहरु समग्र रूपमा स्वस्थ रहन र दीर्घरोग विरुद्ध उत्कृष्ट मानिन्छन्।
दैनिक आहारमा भिटामिन ‘ए’ को उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। परिवार कल्याण महाशाखाका निर्देशक डा.तिकंरीले भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकास र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्ने बताए।
असोज १४, २०७७ बुधबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।