मलेसियामा बन्धक, नेपालबाट फिरौती
काठमाडौं : मलेसियामा एक नेपाली कामदारलाई नेपालीले नै बन्धक बनाइ १६ लाख रुपैयाँ फिरौती असुल गरेको खुलेको छ।
दाङको पहरुवा घर भई मलेसियामा काम गर्ने मध्म रैदासलाई तीन जना नेपालीको समुहले अपहरण गरी एक हप्ता बन्धक बनाइ १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुल गरेको खुलेको हो।
रैदासलाई बन्धक बनाई घरमा फोन गरेर फिरौती रकम माग्ने समुहका नाइके मोरङ साविक सुन्दरपुर गाविस–५ घर भई मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेपाल कर्नर क्यान्टिन संचालक ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले श्रेष्ठलाई काठमाण्डौं–३ स्थित कान्तीवाल अस्पताल नजिकबाट पक्राउ गरेको व्यूरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेले जानकारी दिए।
श्रेष्ठसहित उनको श्रीमती धनमाया र श्रेष्ठको सवारी चालक श्याम नेपालीले रैदासलाई बन्धक बनाएको उजुरी व्यूरोमा परेको छ।
उनीहरुले रैदासलाई बन्धक बनाइ मलेसियाबाट घरमा उनको श्रीमतीलाई फोन गरेर ६० हजार मलेसियन रिङगेट नदिए तिम्रो श्रीमानको ज्यान नरहने भन्दै धम्कि दिएको उजुरीमा उल्लेख छ।
रैदासको श्रीमतिले श्रेष्ठको नाममा रहेको हिमालयन बैंकको खातामा रकम जम्मा गर्दा अपहरणमुक्त गरे पनि राहादानी कब्जामा लिएर अहिले सम्म नेपाल आउन नदिएको व्यूरोले जनाएको छ।
श्रेष्ठ नेपाल आएको सुचनाका आधारमा व्यूरोको टोलीले बा.१४ च. २११२ नम्बरको जिपसहित उनलाई नियन्त्रणमा लिएको छ।
श्रेष्ठले मलेसियामा काम गर्न गएका गरिब सोझा नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्दै आएको खुलेको व्यूरोले जनाएको छ।
रैदासलाई जस्तै अरु नेपालीलाईसमेत बन्धक बनाउने र रकम असुल गरेको आशंकामा उनीमाथि थप अनुसन्धान भैरहेको पाण्डेले जानकारी दिए।
असोज १४, २०७७ बुधबार १२:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।