सन्दीपको टोली दिल्ली हैदरावादसँग १५ रनले पराजित 

सन्दीपको टोली दिल्ली हैदरावादसँग १५ रनले पराजित 
दिल्ली क्यापिटलविरुद्ध जितपछि खुसी मनाउँदै सनराइजर्स हैदरावादका खेलाडी। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल सनराइजर्स हैदरावादसँग १५ रन पराजित भएको छ। 

संयुक्त अरब इमिरेट्स (युएई)मा मंगलबार राति सम्पन्न खेलमा एक सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर एक सय ४७ रन मात्रै बनाउन सक्यो।

योसँगै हैदरावादले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।  

दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३४ रन जोडे। यस्तै, रिसभ पन्तले २८, सिमरोन हेटमायरले २१, श्रेयस ऐयरले १७ र मार्कश स्टोनिसले ११ रन बनाए। कागिसो रवाडा १५ रनमा अविजित रहे। 

हैदरावादका रासिद खानले कसिलो बलिङ गर्दै ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। उनले दिल्लीका मुख्य तीन खेलाडी (धवन, पन्त र ऐयर)को विकेट लिएका थिए।

यस्तै, भुवनेश्वर कुमारले २ तथा खलिल अहमद र टि नटार्जनले समान १ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित ओभरमा ४ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो।

हैदरावादका लागि जोनी बेरिस्टोले सर्वाधिक ५३ रन बनाएका थिए। यस्तै, डेभिड वार्नरले ४५ र केन विलियम्सनले ४१ रनको योगदान दिए। 

बलिङतर्फ दिल्लीका कागिसो रवाडा र अमित मिश्राले २/२ विकेट लिए। 

क्रिकइन्फो डट कम

असोज १४, २०७७ बुधबार ०६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।