डा. केसी थलिँदै, सरकारको बेवास्ता

डा. केसी थलिँदै, सरकारको बेवास्ता

काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थलिँदै गएको छ। 
 

डा. केसीको रगतमा डब्लुबिसीको मात्रा कम भएको, सुगर कम भएको र पोटासियम लगायतका तत्त्व पनि कम देखिएको डा. केसीको स्वास्थ्य अवस्था निगरानी गरिरहेका अस्पतालका डा. सुवास आचार्यले जानकारी दिए। 

डा. केसी १६ दिनदेखि अनसनरत छन्। 

डा. केसीको  पछिल्ला माग 

–    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम संचालन गरिनु पर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरिनु पर्ने

–    गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनु पर्ने 

–    प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल संचालन प्रक्रिया अघि बढाउनु पर्ने। 

डा. केसीको माग पूरा गर्नका लागि सरकारलाई दबाब दिन अहिले काठमाडौंलगायत देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ।

वरिष्ठताका आधारमा आइओएमको डिन नियुक्ति गरिनु पर्ने माग राख्दै पहिलो पटक २०६९ असार २१–२४ मा अनसन बसेका थिए।

पछिल्लो पटक डा. केसीको १५ औं अनसन २०७५ साउन १० मा ९ बुँदे सहमतिपछि तोडिएको थियो। 

सरकारले केसीले उठाउँदै आएको चिकित्सा शिक्षा सुधारसम्बन्धी अघि सारेका माग र प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ लाई कार्यान्वयन गर्ने सहमति गरेपछि केसीले २७ दिनको अनसन तोडेका थिए। 

डा. केसीलाई नेकपाका नेता सुवास नेम्बाङ र त्रिविका पूर्वउपकूलपति केदारभक्त माथेमाले जुस खुवाएर अनसन तोडाएका थिए। त्यतिबेला पनि केपी शर्मा ओली नै प्रधानमन्त्री थिए। 

यी हुन् डा.केसीका माग 

–    वरिष्ठताका आधारमा आइओएमको डिन नियुक्ति गरिनु पर्ने

–    आइओएमका भ्रष्ट पूर्वपदाधिकारीलाई तत्काल कारबाही गर्नु पर्ने

–    ग्रामीण क्षेत्रमा मेडिकल कलेज स्थापनाको प्रक्रिया तत्काल सुरु गर्नु पर्ने

–    त्रिविमा नयाँ पदाधिकारी नियुक्त गर्दा दलीय भागवण्डा नभइ वरिष्ठता र कार्य दक्षताका आधारमा नियुक्त गरिनु पर्ने 

यी बुँदा कार्यान्वयन गर्न सरकारले पटक–पटक आश्वासन दिए पनि पूर्णरूपमा सम्बोधन हुन सकेको छैन।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले डा. केसीको माग सम्बोधनका लागि सरकार गम्भीर भएको बताए। 
उनले भने, ‘हामीले डा. केसीको माग बुझेका छौं। मागका सन्दर्भमा मन्त्रालयमा छलफल भएको छ।’

डा. केसी अनसन बस्न थालेको आठ वर्ष तीन महिना नाघिसक्यो। 

यसैबीच, नेपाल चिकित्सक संघ, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवाले डा. केसीको जीवन रक्षाका लागि अपिल छन्। 

असोज १३, २०७७ मंगलबार १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।