देउवाविरुद्ध पौडेल पक्षको विरोध पत्र

देउवाविरुद्ध पौडेल पक्षको विरोध पत्र

काठमाडौं : सदस्यता वितरण, विभाग गठनलगायतका विषयमा असन्तुष्टि राख्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले सभापति शेरबहादुर देउवाविरुद्ध विरोध पत्र दर्ता गराएको छ। 
 

पार्टी केन्द्रीय कार्यालयमा पौडेल पक्षले सोमबार विरोध पत्र दर्ता गराएको हो।

केन्द्रीय सदस्यद्वय नवीन्द्रराज जोशी र दीपक गिरीले सभापति देउवाले पछिल्लो समय गरेका निर्णय सच्याउन माग गर्दै विरोधपत्र दर्ता गराएका हुन्। 

सभापति देउवाले विधान र विधिविपरीत क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तार गरेको आरोप लगाउँदै पछिल्लो समयमा गरिएको निर्णय सच्याउनुपर्ने माग राखेर पौडेल समूहले विरोधपत्र दर्ता गराएको हो ।

पौडेल समूहको शनिबार बसुन्धरामा सम्पन्न गुटको भेलाले सभापति देउवालाई पछिल्ला निर्णयहरु सच्याउनका लागि दबाब दिन हस्ताक्षरसहितको विरोधपत्र बुझाउने निष्कर्ष निकालेको थियो।

पार्टी विधान सम्मत् संचालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गर्न उनीहरुले माग गरेका छन्।

नेकपाको सरकार स्वेच्छाचारिता, कुशासन र भ्रष्टाचारको दलदलमा फसेका वेला प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने दायित्वबाट वञ्चित भएको  आरोप उक्त समूहले लगाएको छ। 

‘महाधिवेशनको पूर्व सन्ध्यामा संगठनमा एकता र विश्वासको वातावरण अभिवृद्धि गर्दै धारिलो र शक्तिशाली सांगठनिक अभियानका माध्यमबाट सरकारका गलत क्रियाकलापप्रति खबरदारी गर्ने तथा संगठनको आन्तरिक जीवनलाई सुदृढ बनाउनु पर्ने बेला संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरणको स्थिति निम्तिनु पार्टी, लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायाँमा पर्ने काम भइरहेको आभास हुनु दुर्भाग्यपूर्ण छ,’ विरोधपत्रमा उल्लेख छ। 

विरोध पत्रमा हस्ताक्षर गर्नेहरुमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा.

रामशरण महत, अर्जुननरसिंह के.सी, बलबहादुर के.सी., महेश आचार्य, दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्दप्रसाद बडू, डा. शेखर कोइराला, दीपक गिरी, नविन्द्रराज जोशी, डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य, कमला पन्त छन्।

यस्तै धनराज गुरुङ्ग, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ्ग, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं छन्। 
 

असोज १२, २०७७ सोमबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।