विषाक्त स्यानिटाइजर छ्यापछ्याप्ती
काठमाडौं : बजारमा विषाक्त पदार्थ मिसिएका स्यानिटाइजर छ्यापछ्याप्ती बिक्री भइरहेको पाइएको छ।
औषधि पसलहरुबाटै मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने स्याटिजाइजर बिक्री भइरहेको पाइएको हो।
औषधि व्यवस्था विभागले विषाक्त रसायन मिथानेल भेटिएपछि थप ९ वटा कम्पनीले उत्पादन गरेका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत बिक्री भइरहेका स्यानिटाइजर प्रतिबन्ध लगाएको हो।

प्रतिबन्ध लगाइएका स्यानिटाइजरमा भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आरकेमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साद्वारा रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर (५०० मिलि) र ५ लिटर रहेका छन्।
यस्तै, ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडांैको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर तथा कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंलो रंगको) र रंगविनाका २ स्यानिटाइजर रहेका छन्।
विभागले यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालालाई सूचित गराएको छ।
योसँगै प्रतिबन्ध लगाइएका स्यानिटाइजरको संख्या १८ पुगेको छ। कोरोना महामारी फैलिएपछि त्यसको रोकथानमका लागि सेनिटाइजरको प्रयोग अत्यधिक बढेपछि मौकाको फाइदा उठाउँदै गुणस्तरहिन स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण बढेको छ।
असोज १२, २०७७ सोमबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।