राजस्थानले पञ्जाबलाई ४ विकेटले हरायो

राजस्थानले पञ्जाबलाई ४ विकेटले हरायो
किंग्स इलेभन पञ्जाबविरुद्ध जित हासिल गरेपछि खुसी साटासाट गर्दै राजस्थान रोयल्सका जोफ्रा आर्चर र टोम कुरान। तस्बिर : आइपिएल टि २० डट कम।

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबमाथि ४ विकेटको जित निकालेको छ।

संयुक्त अरब इमिरेट्स (युएई)मा आज (आइतबार) राति सम्पन्न खेलमा राजस्थानले पञ्जाबले दिएको २२४ रनको विशाल लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।

टोलीलाई जित दिलाउन राजस्थानका सञ्जु सेमसनले ८५ रनको आक्रामक पारी खेले। ४२ बलको सामना गरेका उनले ४ चौका र ७ छक्का प्रहार गरे। यस्तै, राहुल टेवाटियाले ५३ र कप्तान स्टिभ स्मिथले ५० रनको योगदान दिए।

बलिङतर्फ पञ्जाबका मोहम्मद सामीले ३ तथा सेल्डोन कट्रेल, जेम्स निसम र मोर्गान अश्विनले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनाएको थियो।

पञ्जाबका लागि मयंक अग्रवालले विस्फोटक शतक प्रहार गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै, कप्तान केएल राहुलले ६९ रन जोडेका थिए। यस्तै, निकोलस पुरन २५ र ग्लेन म्याक्सवेल १३ रनमा अविजित रहे।

राजस्थानका तर्फबाट टोम कुरान र अंकित राजपुतले समान १ विकेट लिए।

जारी सिजनमा दुई खेल खेलेको राजस्थानले शतप्रतिशत जित निकालेको छ। राजस्थानभन्दा एक खेल बढी खेलेको पञ्जाबले भने एकमा मात्रै जित निकाल्न सकेको छ।

क्रिकइन्फो डट कम

 

असोज १२, २०७७ सोमबार ००:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।