जटिल बन्दै डा.केसीको स्वास्थ्य
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा.केसीको शरीरमा क्याल्सियम र म्याग्नेजियमको मात्रा घटेको छ।
मांशपेशी, छाती दुख्न थालेको छ। यस्तै, डा. केसीलाई चक्कर लाग्ने, झर्को लाग्ने हुन थालेको छ। उनको शरीरमा सुगरको मात्रा पनि घट्दो क्रममा रहेको छ।
डा.केसीका सहयोगी डा.तोसीमा कार्कीले शरीरमा सोडियम, पोटासीयम, क्याल्लिसयम, म्याग्नेजियम जस्ता तत्वहरु घट्दै गएको बताईन्।
उनलाई जनरल वार्डको एनेक्स वान अन्तर्गत् ५०१ नम्वरको बेडमा राखिएको छ। डा. केसीले आफ्नो १९ औं अनसन सुरु गरेको आइतबार १४ दिन वितिसकेको छ।
जुम्लाबाट अनसन सुरु गरेका उनी गत साता मंगलबार काठमाडौं फर्किएका थिए।
यस्तै, सोलिडारिटी फर डा. केसी अलायन्सले डा.केसीको जीवन रक्षागर्न सरकारसँग माग गरेको छ।
सरकारले डा.केसीका मागहरु पूरा गर्न र जीवन रक्षागर्न कुनै कदम नचालेको भन्दै अलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको अभियानमा ऐक्यबद्धता जनाउन तथा नागरिक अधिकारहरुका लागि संघर्ष गर्न सम्पूर्णमा हार्दिक अपील गर्दछौं।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गरिनुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने प्रदेश नं.२ र गण्डकी प्रदेश तथा डोटी, डडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल संचालन प्रक्रिया अघि बढाउनुपर्नेलगायत माग छन्।
सत्याग्रहमा भएका अधिकांश बुँदा सरकारले कार्यान्वयन गर्न चासो नदेखाएको भन्दै अनसनलाई निरन्तरता दिएको डा.केसीले बताए।
डा. केसीको पक्षमा दिनहुँजसो राजधानी काठमाडौंलगायत देशभर प्रदर्शन भैरहेका छन्।
डा.केसी र सरकारबीच पटकपटक सम्झौता भएपनि सम्झौताका अधिकांश बुँदाहरु कार्यान्वयन भएका छैनन्।
जीवन रक्षा गर्न अपील
यस्तै नागरीक समाजका अगुवाहरुले अनसनरत डा. केसीको जीवन रक्षागर्न अपील गरेका छन्।
डा.केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि नागरीक समाजका अगुवाहरुले यसअघि केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न र जीवन रक्षा गर्न माग गरेका हुन्।


अपीलमा भनिएको छ ‘पटकपटक आमरणअनसन बसिरहनुभएका डा.केसीको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको चिकित्सकहरुले बताउँदै आएका छन् भने अर्कोतिर हालको कोरोना महामारीबाट हुनसक्ने जोखिमबाट जोगाउनु पनि राज्यको कर्तव्य हुन आउँछ।’
केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक साता भएको तथ्य जान्दाजान्दै पनि सरकारले चासो नदिएको उनीहरुले उल्लेख गरेका छन्।
अपील गर्नेहरुमा पूर्वप्रधानन्यायाधिशहरु सुशीला कार्की, कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुगांना, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.केदारभक्त माथेमा, मानवअधिकार आयोगका पूर्वसदस्य कपिल श्रेष्ठ, लगायतले अपील जारी गर्दै डा.केसीको जीवन रक्षा गर्न माग गरेका हुन्।
असोज ११, २०७७ आइतबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।