कोलकातासँग हैदरावाद ७ विकेटले पराजित
संयुक्त अरब इमिरेट्स (युएई)मा आज (शनिबार) राति सम्पन्न खेलमा कोलकाताले हैदरावादमाथि सहजै जित निकाल्यो। हैदरावादले दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा ३ विकेटको गुमाएर पूरा गर्याे।
टोलीलाई जित दिलाउन कोलकाताका शुभमन गिलले अविजित रहँदै ७० रन जोडे। इओन मोर्गन पनि ४२ रनमा नटआउट रहे। अर्का ब्याट्सम्यान नितिश रानाले २६ रन बनाए। प्रारम्भिक ब्याट्सम्यान एवं अलराउन्डर सुनिल नरेन र कप्तान दिनेश कार्तिक डकआउट भए।
बलिङतर्फ हैदरावादका रासिद खान, टि नटराजन र खलिल अहमदले समान १ विकेट चट्काए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४२ रनको मध्यम स्कोर बनाएको थियो।
हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ५१ रन जोडेका थिए। यस्तै, डेभिड वार्नरले ३६ र रिद्धिमान शाहाले ३० रन बनाएका थिए।
कोलकाताका बरुण चक्रवर्ती, प्याट कमिन्स र आन्द्रे रसलले १/१ विकेट लिए।
जितसँगै कोलकाताले अंकतालिकामा आफ्नो खाता खोलेको छ। हैदरावाद भने अंकविहीन छ।
यी दुवै टोलीले जारी सिजनमा दुई/दुई खेल खेलेका छन्।
क्रिकइन्फो डट कम
असोज १०, २०७७ शनिबार २३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।