बाढीको बितण्डा : रूपन्देहीका ५० घर डुबानमा, आठ भत्किए

बाढीको बितण्डा : रूपन्देहीका ५० घर डुबानमा, आठ भत्किए

प्रहरीका अनुसार रोहिणी, तिनाउ र दानव नदीको बाढी गाउँ पस्दा ५० भन्दा बढी घर डुवानमा परेका हुन्। स्थानीयका अनुसार बाढी गाउँ पस्दा अन्तपात र लुगाकपडा नष्ट हुनुका साथै पशुचौपाय बगेका छन्। नदी किनारका घर बगेका र कतिपय घर भत्किएको स्थानीयले बताए। 

रोहिणी नदीमा आएको बाढीका कारण रोहिणी गाउँपालिका–५, पिपरहवाको सुकुम्बासी बस्तीका १८ घर डुवानमा परेका छन्।

बाढी गाउँ पसेपछि घरमा राखिएका खाद्यान्न तथा लुगाकपडा नष्ट हुनुका साथै केही पशुचौपाया पनि बगेको स्थानीयले जनाएका छन्। स्थानीयका अनुसार यस क्षेत्रमा बुंगुर, हाँस, खसीबोकालाई बाढीले बगाएको छ। यस्तै, धानबालीमा पनि क्षति पुगेको स्थानीयले बताए। 

पिपहरियामा बाढीमा फसेका स्थानीयलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरी सुरक्षित ठाउँमा राखेको गाउँपालिका अध्यक्ष हीरा केवटले जानकारी दिए। 

स्थानीय धनबहादुर आलेका अनुसार गए राति ३ बजे बाढी गाउँ पसेको थियो। बाढी गाउँ पसेपछि सामान भने जोगाउन नसकिएको उनले बताए। 

यसअघि २०७३ सालमा रोहिणी नदीमा आएको बाढीले पिपरहियाका १४ घर बगाएको थियो। यस्तै, २०६६ सालको बाढीमा परेर ८ घर बगेका थिए। 

बाढीले बर्सेनि क्षति गर्दा पनि तटबन्ध र बस्ती स्थानान्तरणतर्फ सरकारले चासो नदेखाएको स्थानीयको आरोप छ।

स्थानीय भिमीसरा आलेले आफूहरूलाई अन्यत्र सार्न नसकिने भए नदीमा तटबन्ध गर्नु पर्ने माग गरिन्। उनले भनिन्, ‘सानोतिनो क्षति बर्सेनि हुन्छ, यसपल्ट बस्नै नमिल्ने गरी घरमा क्षति पुगेको छ। हामीलाई राम्रो वासस्थानको व्यवस्था होस्।’

वर्षाका कारण रोहिणीसहित, तिलोत्तमा, ओमसतिया, मर्चवार, मायादेवी, देवदह, लुम्बिनी सांस्कृतिक, बुटवल उपमहानगरपालिकाका बस्तीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। बाढी बस्तीमा पस्दा मर्चवार सडक नै अवरुद्ध भएको छ।

घर भत्किँदा ६ घाइते 

वर्षासँगै आएको बाढीका कारण रूपन्देहीका आठ घर भत्किएका छन्। लुम्बिनी सांस्कृतिक नगरपालिका १३ मा स्थानीय बलिराम हरिजनको खरले छाएको कच्ची घर भत्किएको छ। 

घर भत्किँदा उनकी पत्नी कुसुमको दाहिने खुट्टा भाँचिएको छ। 

लुम्बिनीकै वडा नम्बर १२ मा चार वटा घरका पर्खाल भत्किएका छन्। तिलोत्तमा नगरपालिका–८, सातकुला नहरले ४५ वर्षीय ठाकुरप्रसाद थारुको एक तले कच्ची घर भत्काएको छ।

तिलोत्तमा गणेशनगरमा सुखौरा खोलाले गणेशनगरका धनबहादुर सार्की, रघुविर दमाई, मेनबहादुर रुचालको जस्तापाताले छाएको कच्ची घर बगाएको छ। तिलोत्तमा १० मा रहेको पूर्णबहादुर गुरुङको कुखुराको खोरमा बाढी पस्दा रहेका चार हजार कुखुरा मरेका छन्।

खोरमा काम गर्ने पाँच जना बाढीमा फसेपछि उनीहरूलाई सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेडक्वाटर, रूपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक तेज पाठकले जानकारी दिए।

देवदह नगरपालिका–१०, रम्बादेवीटोलमा चरंगे खोलाको बाढीले खोला छेउमा रहेको राम श्रेष्ठको तीन कोठे घर बगाएको छ। बाढीका कारण घरमा रहेका दुई वटा बाख्रा, ५–६ वटा कुखुरा, लुगाकपडा, खाद्यान्न र अन्य सामान बगाएको श्रेष्ठले बताए। 

वर्षाका कारण सम्मरीमाई–५, देबन्डीको प्रभावती मल्लाहको घर भत्किँदा पाँच जना घाइते भएका छन्। घाइतेको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ।

सम्मरीमाई र मर्चवारी गाउँपालिको भरवलिया, देबन्डी, मन्झरिया, लोहाटोला, बरगर टोल लगायतका क्षेत्रका १५ भन्दा बढी घरमा बाढीले क्षति पुर्याएको छ।

रूपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१७, रानीगन्जका उमेश हरिजनको दुई कोठे ब्लक र जस्तापाताले बनाएको घर, पुरुषोत्तम पुरीको दुई कोठे ब्लक र जस्ताले बनाएको घर बगाएको जानकारी दिए। 

असोज १०, २०७७ शनिबार १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।