पहिरोमा १५ वेपत्ता, २ को मृत्यु
स्याङ्जामा ८ जना र पाल्पामा ६ जना पुरिएका हुन्। स्याङ्जामा पहिरोमा पुरिनेमा एकै परिवारका ८ जना छन्।
वालिङ नगरपालिका-१४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ९ जना घर भित्रै पुरिएका हुन्।
बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय राजु कुँवरले जानकारी दिए।
कुवरका अनुसार १० जनाको परिवार रहेकोमा १ जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने १ महिलाको शव फेला परेको छ। घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले बताएको छ ।
प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा १ जनाको ज्यान गएको छ । पहिरोमा परि बाबुराम परियारका १६ वर्षीय छोरा विष्णुबहादुर परियारको मृत्यु भएको हो ।
यस्तै अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोमा पुरिएर पाल्पामा ६ जना बेपत्ता भएका छन्।
बिहीबार बिहान रम्भा गाउँपालिका-२ फोक्सिङकोटस्थित बेलङ्जाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ६ जना बेपत्ता भएका हुन्।
बिहान करिब ४ बजेतिर गएको पहिरोमा परेर हुमबहादुर गाहा, उनकी श्रीमती धनिसरा गाहा, छोरी कृष्णा गाहा, नातिनिहरू आशिका गाहा र खुमिसरा गाहा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी पुग्न सकेको छैन् । सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जानकारी दिए।
भट्टराईले आफुसहितको टोली घटनास्थलतर्फ जाँदै गरेको र बाटोमा पहिरोका कारण रोकिएको बताए।
यस्तै रम्भा गाउँपालिका-२ कै सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए।
असोज ८, २०७७ बिहीबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।