डा. केसीको जीवन रक्षा गर्न काँग्रेसको अपील
काँग्रेस प्रवक्ता विश्वप्रकाश शमाले विज्ञप्ति प्रकाशित गरी डा. केसीसँग भएका सहमति कार्यान्वयन गर्दै उनको जीवन रक्षा गर्न माग गरेका छन्।
‘प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयम् प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन नगरिएको भए आजको परिस्थिति आउने थिएन’ विज्ञप्तिमा भनिएको छ।
‘डा. केसी पछिल्लो अनशन जुम्लामा शुरु गरेर नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दा सम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ’ विज्ञप्तिमा भनिएको छ।
नेपाली कांग्रेसको पालामा चिकित्सा शिक्षामा विस्तार भएको, कांग्रेसकै पालामा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको स्मरण गर्दै विज्ञप्तिमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जारी भएको उल्लेख छ।
सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेला सम्म फरक उचाइमा पुगिसकेको हुने उल्लेख छ।
डा. केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली कांग्रेसले अपील गरेको छ।
डा.केसीको स्वास्थ्यमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ मा तदारुकता प्रस्तुत गर्न काँग्रेसले माग गरेको छ।
असोज ७, २०७७ बुधबार १७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।