‘हार्ने निश्चित भएपछि चुनाव स्थगित गरियो’
संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै अविलम्ब निर्वाचन गर्न माग गरेको छ।
संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाइएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श नै नगरी निर्वाचन स्थगित गरेकोमा गम्भीर आपत्ति जनाए।
‘मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्था थियो। तर, सरकारले एकाएक कसैसँग पनि सरसल्लाह र समन्वय नै नगरी निर्वाचन स्थगित गर्ने निर्णय गर्नु लोकतन्त्रमाथिको धावा हो’ उनले भने,‘यो कार्य संविधानको भावना र कानून विपरित हो।’
‘कोरोनाको कहरकै बीचमा निर्वाचनको मिति तय गरिएको हो। निर्वाचन नगर्ने हो भने किन चुनावको मिति तोकियो त? पोखरेलले भने,‘हामी प्रजातन्त्रवादी हौं।
चुनावको पक्षमा थियौं। चुनावबाट भाग्नु भनेको लोकतन्त्र विरोधी कदम हो।’
पोखरेलले सत्तारुढनिकट ट्रेड युनियन संगठनहरुबीच एकता नहुँदा हार्ने निश्चित भएपछि सरकारलाई ब्रिफिङ गरेर चुनाव स्थगित गरिएको आरोपसमेत लगाए।
उनले सरकारी संयन्त्र प्रयोग गरेर (गुप्तचर र सिडिओहरुमार्फत) चुनाव हार्ने देखेपछि पार्टीलाई कन्भिन्स गराएर नेकपानिकट संगठनहरुले चुनाव स्थगित गराउन लगाएको आरोप लगाए।
आधिकारिक ट्रेड युनियनका महासचिव सुवोध कुमार देवकोटाले चाँडोभन्दा चाँडो निर्वाचन सुनिश्चित् गरिनुपर्नेमा जोड दिए।
उनले सरकारले एक्कासी निर्वाचन स्थगित गरेको निर्णय आपत्तिजनक भएको पनि टिप्पणी गरे। उनले निर्वाचन स्थगित गर्ने सरकारको निर्णयमा सहमत हुन नसकिने बताए।
युनियन संघले सबै प्रदेश कार्यसमितिहरु, जिल्ला कार्यसमितिहरु र विभागीय कार्यसमितिहरुलाई समेत आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित सम्बन्धमा जरुरी परिपत्र जारी गरेको छ।
उक्त परिपत्रमा निर्वाचन प्रक्रिया अविलम्ब सूचारु गर्न दबाब दिने उद्देश्यले सम्पूर्ण प्रदेश कार्यसमितिले प्रदेश मुख्यमन्त्रीमार्फत, जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत र विभागीय कार्यसमितिले सम्बन्धित विभागीय मन्त्रालयका नेपाल सरकारका सचिवमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन अनुरोध गरेको छ।
सरकारले असोज २४ गतेका लागि तोकिएको आधिकारीक ट्रेड यूनियनको निर्वाचन कोभिड–१९ को कारण देखाउदै स्थगित गरेको छ।
असोज ७, २०७७ बुधबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।