कालोबजारी गर्ने व्यापारीको भागाभाग 

कालोबजारी गर्ने व्यापारीको भागाभाग 

बिष्णुप्रसाद सापकोटा प्रोपाइटर रहेको बिजी इन्टरप्राइजेज नाममा दर्ता भएको पसल खुल्ला थियो। लामो समय कुर्दा पनि व्यापारी नआएपछि सोधपुछ गर्दा उनी भागेको पत्ता लाग्यो।  सापकोटा नक्साल तरकारी तथा फलफुल व्यवस्थापन समितिका अध्यक्ष समेत हुन।    तरकारीको बजार  मूल्य  बारे जानकारी लिने क्रममा एकैछिन पछि अर्को सूचना आयो। पसल नं. ४०४१ का शिवलाल शाह पनि पसल छोडेर भागे । यो सब नियालीरहेका नजिकैका अर्का व्यापारीले प्रति किलो ६० रुपैयाँमा प्याज बेच्न थाले । उनको करीब २० किलो प्याज छिनमै रित्तियो । 

अन्य तरकारी बजारमाजस्तै नक्साल तरकारी बजारमा पनि खरिद बिक्री बिल र दर्ताको मुख्य समस्या देखियो । बजारमा तोफु (भटमासबाट बनेको खाद्यबस्तु) बिक्री गर्ने मिश्र स्वाँर म्याद त सुँघेर थाहा हुने र किन्नेले सुँघेरै किन्ने बताए। तोफु प्लाष्टिकको बाटामा पानी हालेर खुल्ला रुपमा बेच्न राखिएको थियो । त्यसमा कुनै खालको लेवल राखिएको थिएन । 

त्यसपछि टोलिले नक्सालमा सोमबार बिहानै बा १८ च ९९०१ नं. को सवारी साधनले प्याकेजिङ् गरिएको चाउमिन बितरण गर्दै गरेको भेेेेेटायो । वितरित चाउमिनमा उत्पादन र उपभोग्य मिति केरमेट भेटिएपछि सामानसहितको सवारी नियन्त्रणमा लिईएको छ। 

यस्तै ज्ञानेश्वरमा रहेको कुमारी मिल र मनोरमा ज्ञानेश्वर फ्लोर एण्ड राइस मिलमा लेवल नभएका सबै खाद्यबस्तु बिक्रीमा रोक लगाइएको छ । मिलबाट सामान कहिले उत्पादन गरिएको हो? खाद्य बस्तु उत्पादन गर्न ल्याइएको कच्चा पदार्थको उपभोग्य मिति के थियो? एकिन नभएपछि सामान बिक्रीमा रोक लगाइएको समितिको भनाइृ छ। यी मिलहरुमा बाहिरबाट ल्याएको अन्नलाई कुटाइ गरेर बिक्री वितरण हुँदै आएको छ ।   

महानगरको कृषि बिभागको नेतृत्वमा भएको अनुगमनमा पशु सेवा बिभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका प्रतिनिधि सहभागी बनेका थिए। 

असोज ५, २०७७ सोमबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।