दुध दिँदा पाल्ने, नदिँदा लखेट्ने !

दुध दिँदा पाल्ने, नदिँदा लखेट्ने !

रुपन्देही : छाडा पशु चौपायाको कारण भैरहवा सहर कुरुप बनेको छ। छाडा पश चौपायाको उचित व्यवसपन नहुँदा सहरको सौन्दर्यता ह्रास भएको छ भने दुर्घटनाको जोखिम पनि बढेको छ। 

सिद्धार्थनगर नगरपालिकाले चौपाया व्यवस्थापनमा ठोस योजना नबनाउँदा सहरभरी छाडा चौपाया भरिएका छन्। 

नगरका गल्लीगल्लीदेखि मुख्य सडकमार्ग पशु चौपायाले छपक्कै ढाकेको छ। स्थानीय वनमाली निराकारले भने, ‘पुश चौपायाले सवारी साधन आवतजावतमा मात्र नभएर पैदल हिँडडुलमा समेत समस्या भैरहेको छ।’ 

सडकमा छपक्कै गाईगोरु, बाछाबाछी र कुकुरलगायत पशु चौपाया छाडिएका छन्। चैपायाकै कारण कयौँ नागरिकको दुर्घटनामा परि ज्यानसमेत गैसकेको छ भने कति अंगभंग भएका छन्। 

छाडा पशु चौपायाको व्यवस्थापन गर्न नगरपालिकालाई पटकपटक आग्रह गर्दा पनि नागरिकको आवाज नसुनेको सामाजिक अगुवा विजयगोविन्द श्रेष्ठले बताए। 

सडक नै ढाकेर ओहोरदोहोर गर्ने गाई,गोरु र कुकुरले जथाभावी दिसा पिसाव गर्छन्। यसले सडकको सौन्दर्यता बिगारेको मात्रै छैन आयुसमेत घटाउँदै छ।

चौपायाको दिसा पिसाव सफा गर्नेतर्फ पनि ध्यान दिइएको छैन। छाडा चौपायाको संख्यामा बृद्धि हुँदै जाँदा सवारी साधनको ठक्करबाट ज्यानसमेत गैरहेको छ।

दुध दिँदासम्म गाई पाल्ने र त्यसपछि फुकाएर लखेट्ने काम स्थानीयले गर्दै आएका छन्।

अर्कोतर्फ छाडा चौपाया बढ्दै जाँदा स्थानीयले करेसाबारीमा लगाएको तरकारी बाली, बजार क्षेत्रमा लगाइएको विरुवा खाने गरेका छन्। 
होटल तथा रेष्टुरेन्ट, तरकारी पसल अगाडि गाईगोरुको भीड लाग्ने गरेको छ। 

छाडा पशु चौपायाका कारण ट्राफिक व्यवस्थापनमा निकै समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ। 

सहरका बीचमा छाडा पशु चौपाया व्यवस्थित गर्न ठाउँ नपाउँदा नगरपालिकाले पनि दिगो समाधान गर्न सकेको छैन। 

छिमेकी तिलोत्तममा नगरपालिका र नवलपरासीमा कान्जी हाउस छ। तर, ती ठाउँमासमेत चौपाया लगेर छाड्न नगरपालिका चुकेको छ।

भैरहवाको बैंकरोड, गल्लामण्डी, वीपीपथ, लुम्बिनीरोड, आवारोड, हाटबजार, मिलनचोक, बसपार्क, आँखा अस्पताल, जनकपथ, शान्तिनगर, नारायणस्थान, सिद्धार्थरागमार्ग लगायतका स्थानमा पशु चौपायाको भीड नै लाग्ने गरेको छ।

सवारी चालक उमेश यादवले गाडी हिँड्ने बाटो नै ढाकेर चौपाया हिँड्दा रोकेर धपाएपछि मात्रै यात्रा गर्नुपर्ने वाध्यता भएको बताए। 
उनले कहाँ कतिबेला दुर्घटनामा परिन्छ भन्ने थाहै नभएको सुनाए।

नगरबासीले कयौंपल्ट नगर प्रमुख हरिप्रसाद अधिकारीलाई भेटेर चौपाया व्यवस्थापन गर्न आग्रह गरे पनि बेवास्ता गर्दै आएको गुनासो गरेका छन्। 

नगर प्रमुख अधिकारीले भने आफूले चौपाया व्यवस्थापनको योजना बनाइरहेको बताए । नगरभित्र गौशाला बनाउन सार्वजनिक जमिन अभाव भएकाले केही समस्या निम्तिएको उनको भनाई छ।

असोज ५, २०७७ सोमबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।