चन्द्रप्रकाशको ‘महारानी’लाई जगदम्बा–श्री
काठमाडौं : मदन पुरस्कार २०७६ महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँले प्राप्त गरेका छन्।
त्यस्तै २०७६ सालको जगदम्बा–श्री पुरस्कार शान्ति ठटालले पाएकी छन्।
२०७६ सालमा प्रकाशित पुस्तकहरू मध्ये १५१ पुस्तक गुठीमा दर्ता भएको र त्यसबाट सात पुस्तक मदन पुरस्कार सूची २०७६ का रुपमा छनोट भएका थिए।
महारानीका साथै जोकरको बन्दुक, धर्सैधर्साको चक्रव्यूह, परित्यक्ता, महारसनिघण्टु, मोहपथ र यात्रामा सूचीमा परेका थिए।
२०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले २०१३ सालमा पहिलोपल्ट गद्य विधामा सत्यमोहन जोशीलाई ‘हाम्रो लोक संस्कृति’, समाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’लाई मदन पुरस्कार प्रदान गरेको थियो।
त्यस्तै, २०४५ सालमा रानी जगदम्बाको निधनपछि जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो। यो पुरस्कार पहिलोपटक नारायण गोपालले पाएका थिए।
६ दशकदेखि संगीत क्षेत्रको उन्नयनमा विशेष योगदान पुर्याएकाले ठटाललाई पुरस्कृत गरेको मदन पुरस्कार गुठीले जनाएको छ।
असोज ४, २०७७ आइतबार १६:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।