६७०५ सुरक्षाकर्मीमा कोरोना संक्रमण
काठमाडौं : नेपालमा पहिलो पटक कोरोना संक्रमित सुरक्षाकर्मीको ज्यान गएको छ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा ‘फ्रन्टलाइन’मा खटिने मध्ये एक नेपाली सेनाको ज्यान गएको हो।
संक्रमण देखिएकामध्ये सेनाका एकजनाको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिकको भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार मृतक सैनिकको यही असोज १ गते कोरोना परीक्षणको नतिजा आएको थियो।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका ६ हजार ७ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ।
हालसम्म सबैभन्दा बढी नेपाल प्रहरीमा ३६ सय २६ जनामा कोरोना देखिएको छ। जसमध्ये १८ सय ९ जना डिस्चार्ज भएका छन्।
प्रहरी प्रधान कार्यालयमा २६३, उपत्यकामा ६८१, प्रदेश १ मा १६८, प्रदेश २ मा १६९, वाग्मती प्रदेशमा १३७, गण्डकी प्रदेशमा १५३, प्रदेश ५ मा ११०, कर्णाली प्रदेशमा ४८ र सुदूरपश्चिम प्रदेशमा ८८ जना प्रहरी सक्रिय संक्रमित छन्।
हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ४ सय १ जना डिस्चार्ज भएका छन् भने १६ सय ५४ जना सक्रिय संक्रमित छन् ।
यस्तै सशस्त्र प्रहरी बलका १ हजार २३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६७० जना डिस्चार्ज भएका छन् भने अन्य उपचाररत छन्।
असोज ४, २०७७ आइतबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।