४२ देशमा रहेका नेपालीमा कोरोना संक्रमण 

४२ देशमा रहेका नेपालीमा कोरोना संक्रमण 

विश्वभरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक रहेकाले विभिन्न ८२ वटा मुलुकमा रहेका नेशनल कोअर्डिनेशन काउन्सिल (एनसीसी) हरुसँग समन्वयन गरेर अगाडी बढेको जनाएको छ ।

काठमाडौ : विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १ सहित २४४ जना नेपाली निधन भएकोे छ ।  यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।  

योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न  १७ देशमा  संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताए ।  स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ  भने  ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ ।  समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  
  
कोरोना भाइरसका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।  यस्तै विश्वभर १ लाख  ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् ।  नेपाल सहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ ।  

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना महामारीका कारण समस्यामा परेका १ लाख ५० हजार गैरआवासीयलाई प्रत्यक्ष रुपमा सहयोग पुर्याएको जनाएको छ ।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय  समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको उद्घाटनसत्रमा बोल्दै संघका महासचिव डा हेमराज  शर्माले कोरोना भाइरस संक्रमण सुरु हुने बित्तिकै एनआरएनका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय कमिटी गठन गरी योेजनाबद्ध रुपमा अगाडी बढेको र समस्यामा परेका नेपालीलाई घरैमा पुगेर समेत सहयोग गरेको बताए । 
 
डा शर्माका अनुसार करिब ५० देशमा २१ सय भोलेन्टियर्सहरु खटिएका छन् । एनआरएनएले कोरोनाका कारण समस्या परेका १ लाख ५० हजार गैरआवासीय प्रत्यक्ष सहयोग गरेको जनाएको छ । सहयोगमा स्वास्थ्य समाग्रीदेखि खाद्यान्न सम्म छ ।

गैरआवासीय नेपालीहरुबाट नै १२ करोड  संकलन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्चिइएको छ । एनआरएनएले नेपाल सरकारलाई पनि करिब २ करोड २० लाखको स्वास्थ्य सामग्री सहयोग गरिसकेको र सहयोग गर्ने क्रम जारी नै रहेको छ । एनआरएनएले सुरुमा अर्वानेस्, प्रिभेन्सन र प्रोमोसनमा जोड दिएकोमा पछिल्लो पटक थ्री आर (रिलिफ, रिपाट्रिएसन र रिह्याबिलिटेसन) को योजनाबद्ध रुपमा काम गरिरहेको जनाएको छ ।

विश्वभरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक रहेकाले विभिन्न ८२ वटा मुलुकमा रहेका नेशनल कोअर्डिनेशन काउन्सिल (एनसीसी) हरुसँग समन्वयन गरेर अगाडी बढेको जनाएको छ । कतार च्यारिटी र कतार रेडक्रसको कोलाब्रेसनमा करिब ७ हजार २ सय फुड प्याकेजहरु बाँडिएको महासचिव शर्माले बताए । त्यस्तै एनआरएनएले आइएलओसँग एउटा प्रोजेक्ट सुरु गरेको जनाएको छ । आइएलओले पहिलो चरणमा ५ करोड उपलब्ध गराइसकेको र ५ करोड केही समयपछि दिने निश्चित भएको महासचिव शर्माले जानकारी दिए । यो प्रोजेक्ट खास गरेर मध्यपूर्वमा रहेका आप्रवासी श्रमिकहरुको लागि सुरु गरिएको कार्यक्रम हो ।

नेपाल सरकारले मध्यपूर्वका केही मुलुकमा राहतका लागि करिब ७० लाख उपलब्ध गराइसकेको छ । विभिन्न मुलुकका एनसीसी तथा काठमाडौंमा पनि २४ सै घण्टा हटलाईन सेवा सञ्चालन तथा उपलब्ध सबै प्रविधिको प्रयोगमार्फत गैर आवासीय नेपालीहरुको अवस्था बुझ्ने कोसिस गरिएको शर्माको भनाई थियो ।  स्वास्थ्य समितिका अध्यक्ष डाक्टर संजिव सापकोटा, कुश श्रेष्ठ लागयत अन्य मुलुकमा रहेका स्वास्थ्यकर्मीहरुको परामर्शअनुसार कोरोना रोकथाम तथा न्यूनीकरणका लागि एनआरएनएले सक्दो पहल गरेको उनले जानकारी दिए ।

तर एनआरएनएले नेपालीहरु स्वदेश फिर्तीमा महंगो भाडा लगायत विषयमा सरकारलाई पटक पटक घचघच्याउँदा पनि सरकारले त्यसमा बेवास्ता गरेको भन्दै महासचिव शर्माले दुःख व्यक्त गरे ।  एनआरएनए अब पुर्नस्थापनाका कार्यक्रममा केन्द्रित हुने उल्लेख गरिएको छ । यसका लागि नेपाल र अन्य विभिन्न ४ मुलुकमा गरी ४५ जनाको समुह रहेको महासचिव शर्माले जानकारी दिए ।  
  

असोज ४, २०७७ आइतबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।