डा. केसीलाई जर्वजस्ती अस्पताल लगियो
काठमाडौं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा अनसनमा बसेका डाक्टर गोविन्द केसीलाई प्रहरीले शनिबार राति जबर्जस्ती उठाएर अस्पताल लगेको छ ।
राति करिब पौने ११ बजे प्रहरीले जबर्जस्ती उठाएर केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको केसीका सहयोगी स्थानीय युवा महेन्द्र कार्कीले जानकारी दिए।
डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अस्पताल लगिएको प्रहरीले जनाएको छ। डा. केसीले प्रहरीले अपहरण शैलीमा उठाएकाले कुनै पनि उपचार नलिने बताएका छन्।
नियमित स्वास्थ्य निगरानी गरिरहेका चिकित्सकले शनिबार दिउँसो अस्पताल लैजानुपर्ने सुझाव दिएका थिए। तर उनी अस्पताल जान मानेका थिएनन्।
अस्पताल जान नमानेका डा. केसीलाई राति नै लछारपछार पारेर प्रहरीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको सहयोगी कार्कीले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागिप्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन्।
सरकारसँग २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग केसीको छ।
डाक्टर केसी जुम्लाको बाविरामष्टो मन्दिरमा भदौं २९ गतेदेखि सत्याग्रहमा बसेका छन्।
उनले मन्दिर नजिकैको डुडुलचैत्यमा अनशन बस्न खोजेका थिए। तर, प्रहरीले त्यहाँ जान नदिएपछि उनी मन्दिरमै अनशन बसेका हुन्।
असोज ४, २०७७ आइतबार १०:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।