कांग्रेसले भन्यो–डा. केसीसँग ‘इमान्दार वार्ता र सार्थक कार्यान्वन गर’

कांग्रेसले भन्यो–डा. केसीसँग ‘इमान्दार वार्ता र सार्थक कार्यान्वन गर’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि सत्याग्रहमा बसेका डाक्टर गोविन्द केसीसँग इमान्दार वार्ता र सार्थक कार्यान्वन गर्न सरकारसँग माग गरेको छ। 

पछिल्लो पटक जुम्लामा डा. केसीले सुरु गरेको अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको बिषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार विज्ञप्ति जारी गरी ०७५ साउन १० गते प्रधानमन्त्रीको अग्रसरतामा डा. केसीसँग सरकारले गरेको सम्झौता त्यही बर्षको माघ महिनामा उल्लंघन गरेको नजिर नदोहो¥याएर इमानदार वार्ता र सार्थक कार्यान्वयनको माग गरेका छन्। 

‘कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान देखि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान सम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उहाँको जीवनलाई जोखिमबाट जोगाउंदै जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न नेपाली कांग्रेस संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई सार्वजनिक रुपले अपील र आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ। 

कर्णाली केन्द्रित रहेर डा. केसीले पछिल्लो समय अनशन बसिरहँदा कांग्रेसले आफ्नो नेतृत्वको सरकारका पालामा कर्णालीको साविक अञ्चलमा भएका र गरिएका कार्यहरू विज्ञप्तिमार्फत स्मरण गरेको छ। 

प्रदेश सभामा प्रतिपक्षीका रूपमा नेपाली कांग्रेसले कर्णालीको शिक्षा, स्वास्थ्यको विकासकालागि निरन्तर आवाज उठाइरहेको औंल्याउदै कांग्रेसले डा. केसीको अनशनले यो बिषयलाई बहसको केन्द्रमा स्थापित गर्न योगदान गरेको जनाएको छ। 

असोज ३, २०७७ शनिबार १४:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।