संविधान दिवसमा ५९४ लाई तक्मा
काठमाडौं : सरकारले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रका ५ सय ९४ जनालाई मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।
सरकारद्वारा सार्वजनिक गरिएको सूचीअनुसार ४ सय ५३ जनालाई मानपदवी १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गर्न लागिएको हो।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान दिनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ।
सरकारले यस वर्ष नेपाल रत्न कसैलाई पनि दिइएको छैन। सुप्रसिद्ध प्रबल जनसेवा श्री ९प्रथम९ बाट आँखाका वरिष्ठ चिकित्सक सन्दुक रुइतलाई सम्मान गरिने भएको छ।
यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सञ्चारकर्मीसमेत छन्।
संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ। तर यस वर्ष नेपाल रत्न कसैलाई दिइएको छैन।
राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गरेका, राष्ट्रिय जीवनको कुनै क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई सम्मान गर्न दिइने विभूषण चाहे जति बाँड्न मिल्ने गरी सरकारले नियमावली संशोधन गरेको थियो।
मन्त्रिपरिषद्को हालैको बैठकले विभूषण (दोस्रो संशोधन) नियमावली २०७७ स्वीकृत गरेको थियोे।
सरकार आफैंले तक्मा बाँड्न निश्चित संख्या तोक्न कानुन संशोधनको तयारी गरिरहेका बेला यस वर्ष कोरोना नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण योगदान दिनेलाई समेट्न तक्माको संख्या बढाएको सरकारी दाबी छ।
विभूषण ऐन संशोधनका लागि संसद्मा पुग्नै लागेको छ। तर यस वर्ष पुरानोमा जे छ त्यहीअनुसार तक्मा दिन सक्ने गरी नियमावलीमा संशोधन गरिएको थियो।
लोकतन्त्र स्थापना भएपछिका सरकारले वितरण गरेका यस्ता तक्मा विवादरहित हुन सकेका छैनन्।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा योगदान गरेका व्यक्तिलाई दिनुपर्ने तक्मा आफन्त, नातागोतालाई दिन थालेपछि विवाद भएको हो।
राज्यले दिने सम्मानको दुरुपयोग हुँदा विभूषणको गरिमासमेत घट्दै गएको व्यापक गुनासो आउन थालेपछि गृह मन्त्रालयले दुई सयभन्दा बढीलाई पदक दिन नपाउने गरी यसअघि नियमावली बनाइएको थियो।
असोज ३, २०७७ शनिबार ११:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।