सशस्त्र प्रहरीलाई बीओपी स्थापना गर्न जग्गा अभाव

सशस्त्र प्रहरीलाई बीओपी स्थापना गर्न जग्गा अभाव

सीमा क्षेत्रमा सरकारी जग्गाको अभावले सशस्त्रलाई बीओपी स्थापना गर्न कठिनाई उत्पन्न भएको हो।

नेपाल भारत सीमा क्षेत्रमा थप २८ बीओपी थप्ने तयारी थालेको सशस्त्र प्रहरीले रुपन्देहीको बुचीमा एउटा वाहेक अन्त बीओपी निर्माण गर्न सकेको छैन।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्धवासिनी बाहिनी मुख्यालय रुपन्देही, चन्द्रौटाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) किशोर प्रधानले जग्गा अभावमा बीओपी स्थापना गर्न कठिनाई उत्पन्न भएको बताए।

‘हालै रुपन्देहीमा स्थापना गरेको बीओपी पनि भाडाको घरमा हो’ प्रधानले भने,‘सीमा क्षेत्रमा सरकारी जग्गा नहुँदा निकै समस्या भएको छ।’

बाँकी २७ वटा बीओपी स्थापनाका लागि सम्बन्धित स्थानीय तहहरुसँग समन्वय भैरहेपनि जग्गा नपाइएको उनले जानकारी दिए।

जहाँ बीओपी स्थापना गर्न आवश्यक छ, त्यहाँ जग्गा नै नपाइने भएकाले कतिपय ठाउँमा दुई–चार सय मिटर टाढा बीओपी बनाउने तयारी थालेको प्रधानले बताए।

जग्गा प्राप्त भएको ठाउँमा बीओपी स्थापनाका लागि फाइल केन्द्रमा पठाइएको र स्वीकृत भएपछि निर्माण थालिने उनले जानकारी दिए।
प्रदेश ५ मा भारतसँग सीमा जोडिएको ४ सय ३६ किलोमिटर क्षेत्र छ। 

हाल ३२ वटा बीओपीले सीमा सुरक्षा गरिरहेका छन्। २०६४ सालदेखि सशस्त्रले सीमावर्ती अपराध नियन्त्रण र सीमाको निगरानी गर्दै आएको छ।

सशस्त्र प्रहरी बलका अनुसार अहिले नवलपरासीमा चार बीओपी छन् भने दुई निर्माण गर्न बाँकी छन्। यस्तै रुपन्देहीमा ६ वटा छन् भने निर्माण गर्न बाँकी चार, कपिलवस्तुमा ७ वटा छन् भने ५ वटा थप्नु पर्नेछ।

यस्तै दाङमा ३ बीओपी छन् भने ९ वटा निर्माण गर्नु पर्नेछ। बाँकेमा ७ वटा निर्माण गरिएको छ भने ३ बाँकी छन्। बर्दियामा ५ वटा पहिले नै छन् भने चार वटा बाँकी बाँकी छन्। 

अहिले एउटा बीओपीबाट अर्को बीओपीको दूरी १५ किलोमिटरको हाराहारीमा छ। जसले गर्दा सीमा क्षेत्रको निगरानी निकै फिलतो छ।

थप २७ बीओपी स्थापना भए एउटाबाट अर्को बीओपीको दूरी कम्तिमा ५–७ किलोमिटर मात्र हुने सशस्त्र प्रहरीले जनाएको छ।

नेपालसँगको सीमावर्ती क्षेत्रमा भारतले भने तीन किलोमिटरको दूरीमा एसएसबी क्याम्पस निर्माण गरी सीमाको निगरानी गर्दै आएको छ।

तीन वर्षभित्र प्रदेश ५ मा बीओपीकोे संख्या बढाएर एक सय ५० पुगाउने सरकारको तयारी छ। यसो हुँदा भारतको जस्तै तीन किलोमिटरको दूरीमा सुरक्षाकर्मीको उपस्थित हुनेछ।

सीमावर्ती क्षेत्रमा हुने अपराध, सीमा सुरक्षा, सीमा स्तम्भको निगरानी, अवैध क्रियाकलाप नियन्त्रणमा थप मद्दत पुग्ने र स्थानीय नागरिकले पनि शान्ति सुरक्षा पाउने प्रधानले बताए।

यस प्रदेशका जिल्लाहरुमा अन्यत्र भन्दामा सीमा अपराध, चोरीतस्करी, हातहतियार ओसारपसार, मानववेचविखनलगायत गतिविधि बढी हुने गर्दछन्।

प्रदेश ५ मा रहेका ६ हजार १५ जना सशस्त्र प्रहरीे जनशक्तिमध्ये बीओपीका लागि करिब तीन हजार ६ सय जना खटाइएको सशस्त्र प्रहरीले जनाएको छ।
 

असोज २, २०७७ शुक्रबार १४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।