शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन काँग्रेसको माग

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन काँग्रेसको माग

कसैलाई संक्रमण छ र छैन व्यापक पक्षीण गर्नु र उ बाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व भएको काँग्रेसले औंल्याएको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त निर्णय तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील बिषयमा निर्णयमा पुग्न आग्रह गरेका छन्। 

‘शंकास्पद मृत्युमा कोरोना परीक्षण नगर्ने निर्णय गरिरहंदा त्यससँग गांसिएका गम्भीर सैद्धान्तिक र ब्यवहारिक प्रश्न नजरअन्दाज नगर्न हामी सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ।

शंकास्पद मृत्यु भएका ब्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको भन्दै काँग्रेसले आफ्नो परिवारको सदस्यको मृत्यु हुनुको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकार भएको विज्ञप्तिमा उल्लेख छ। 

आफ्नो नागरिकको मृत्युको एकमात्र पनि घटना र कारणलाई शंकास्पद स्थितिमा रहन दिनु जिम्मेवार राज्यको परिचय होइन भन्दै काँग्रेसले राज्यले कुनै पनि बहानामा यो दायित्वबाट पन्छिन नमिल्ने जनाएको छ।

‘जीवित छँदै परीक्षण नगरिदिँदा परिवारले एकातर्फ तनाव भोगिरहेकै हुन्छ, मृत्यु पश्चात् पनि शंकास्पद स्थिति कायम राखिदिँदा झनै अन्यौल र फरक ढंगको मानसिक तनाव बढेर जानेछ’ विज्ञप्तिमा भनिएको छ,‘परीक्षणबाट मृतकमा संक्रमण पुष्टि भए निकटस्थहरुको परीक्षण गरेर अरुलाई बचाउने कर्तव्य राज्यले निभाउन सक्दछ।’ 

कोरोना संक्रमितको मृत्यु हुने दर बढिरहेको बेला सरकारले यो नीति लिनु भनेको कोरोनाबाट मृत्युको तथ्यांक कम देखाउन सरकारलाई सघाउ पुग्ने तर, मृत्युको बढ्दो गति रोक्न भने नसघाउने काँग्रेसले जनाएको छ। 

 

असोज १, २०७७ बिहीबार १९:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।