२४ घण्टा काम गर्ने नर्सले पाएनन तलब
काठमाडौंः कोरोना भाइरस महामारी बढ्दै जाँदा अग्रपंक्तीमा खटिएका नर्सहरु चरम श्रम शोषणमा परेका छन् । संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै जाँदा स्वास्थ्य संस्थामा खटिएका अधिकांश नर्सहरुलाई सरकारी तथा निजी अस्पतालहरुले बेवास्ता गरेको पाइएको छ ।
केहि सरकारी अस्पतालहरुले समयमा तलव दिएका छैनन् भने केहि निजी अस्पतालहरुले जवरजस्ती जागिरबाट निकालेको पाइएको छ । सरकारले हरेक अस्पतालले आफ्नो स्वीकृत बेड संख्याको २० प्रतिशत कोभिड–१९ बिरामीको उपचारका लागि छुट्याउनुपर्ने तथा गत शनिबार हरेक मेडिकल कलेजले ३३ प्रतिशत आइसोलेसन बेडका लागि छुट्याउनुपर्ने निर्णय गरेको थियो । जसकारण संक्रमण नदेखीएका विरामीहरु निजि अस्पतालहरुमा आउने क्रम घट्दैजाँदा खर्च नउठेको भन्दै नर्सहरुलाई तलव नदिएको पाइएको हो ।
नेपाल नर्सिङ संघका अनुसार काठमाडौंमा मात्रै कोभिड १९ महामारीका विच एक सय वढि नर्सको जागीर खोसिएको छ । संघका उपाध्यक्ष मिना खड्काले निजी अस्पतालहरुले करारमा कार्यरत नर्सहरुलाई जागीरबाट निस्कासन गर्ने गरेको बताईन् । उनले भनिन्, ‘केहि अस्पतालले जबरजस्ती विदामा बस्न आग्रह गरेको पनि पाइएको छ । केहि अस्पतालले खर्च धान्न नसकिने भन्दैमा विदामा बस्न आग्रह गरेका छन् ।’ उनले नर्सिङ संघमा उजुरी आउने क्रम सुरु भएको वताईन् ।
निजी अस्पतालहरुमा कार्यरत अधिकांश नर्सहरुले समयमा तलव नपाएको गुनासो गरेका छन् । उनीहरुले पिपिई विना काम गरीरहेको, तलव पनि आधा मात्रै पाएको, अस्पतालले डीयूटीको समयमा काम गरेको मात्रै तलव उपलब्ध गराएको बताएका हुन् ।
सरकारी, निजि, गैरसकारी अस्पतालहरुमा नर्सहरुको करार, बेतलबी विदा र तलब सुबिधा कट्टा, बिमा सुविधा लगायतका समस्या समाधान गर्न तर्फ सरकार गम्भिर हुनुपर्ने नर्सिङ संघको माग छ ।
भक्तपुरस्थित सहिद धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स डिकि शेर्पाले भनिन्,‘हामी महामारीमा दिनरात नभनि सेवा प्रदान गरिरहेका छन् । सरकारले कम्तिमा उचित सम्मान र प्रोत्साहन त गर्न सक्छ नी ?’ नेपाल नर्सीङ काउन्सिलका अनुसार देशभर ९५ हजार तीन सय ८४ जना नर्स दर्ता भएका छन् ।
नर्सहरुले न्युनतम तलवमा काम गर्दा समेत सरकारले प्रोत्साहन गरेको छैन । केहि निजि अस्पतालमा कार्यरत नर्सहरुले सरकारले तोकेको भन्दा अत्यन्तै कम तलवमा काम गर्न बाध्य छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । बुधबार एक हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये १६ हजार दुई सय ४२ जना सक्रिय संक्रमित छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पिसिआर परीक्षण भएको छ । देशभर हाल ७ हजार ८ सय २० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, काठमाडौं उपत्यकामा सात सय ३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनालाई कोरोना संक्रमण देखिएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या १३ हजार ६ सय ६१ पुगेको छ । काठमाडौंमा ११ हजार २ सय ३५ ललितपुरमा एक हजार दुई सय ८६ र भक्तपुरमा एक हजार एक सय ४० संक्रमित पुगेका छन् ।
असोज १, २०७७ बिहीबार १९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।