प्रदेशसभा विराटनगरमै रहने
प्रदेशसभा भवनको प्रदेश १का सभामुख प्रदिपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला लगायतले संयुक्त रुपमा शिलान्यास गरेका छन्। २ करोड ५१ लाख रुपैयाँ लागतमा भवन निर्माण गर्न लागिएको हो।
प्रदेश सभाका लागि सभाहल अभाव भएकाले तत्कालका लागि अस्थायी रुपमा हल निर्माण गर्न लागिएको शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख प्रदिपकुमार भण्डारीले बताए। उनले प्रदेश सरकारले पहिलो संरचनाको रुपमा प्रदेशसभा भवन निर्माण गर्न लागेको जानकारी दिए।
भण्डारीले प्रदेशसभा भवन कहाँ रहन्छ भन्ने विषयमा विभिन्न किसिमका टिका टिप्पणी भइरहेको अवस्थामा नयाँ भवनको शिलान्याशले प्रदेशसभाको स्थायी संरचना कहाँ रहने भन्ने अन्योल हटेको दाबी गरे। उनले भने,‘प्रदेशसभा विराटनगर बाहिर लैजाने चर्चा व्यापक भए पनि भवन शिलान्यस गरेपछि स्थायी सभा भवन कहाँ रहने भन्ने अन्यौल हटेको छ।’
यसअघि पनि प्रदेशसभा भवन निर्माण गर्न प्रदेश सरकारले तयारी गरेको थियो। तर, सांसदहरूको विरोधका कारण भवन निर्माण रोकिएको थियो। प्रदेशसभा भवन निर्माण गर्ने विषयमा प्रदेशसभाका बहुमत सदस्यहरूले ज्ञापनपत्र नै बुझाएर तत्काल भवन निर्माण नगर्न आफुलाई दबाद दिएको भण्डारीले बताए। उनले भने,‘बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहितको ज्ञापनपत्र अझै पनि प्रदेशसभा सचिवालयमा सुरक्षित छ।’
कोरोना महामारीमा ठुलो हल नभई बैठक संचालन गर्न नसकिने भएपछि भवन बनाउनै पर्ने अवस्था आएको उनले बताए। ‘कोरोना महामारीले सबै क्षेत्रमा नराम्रो प्रभाव पारे पनि केहि कुरा सकारात्मक पनि भएको छ’, भण्डारीले भने,‘कोरोनाकै कारण प्रदेशसभाको नयाँ भवन विराटनगरमा बन्ने अवस्था आएको हो।’
असोज १, २०७७ बिहीबार १८:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।