प्याज कालोबजारी : गोदाममा मालामाल,बजारमा हाहाकार
एस के. सप्लायर्स र चुली सगरमाथा लाई कारवाही
काठमाडौंः बुधबार बिहान साढे ६ बजको समयमा गएको काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारी अनुगमनका लागि एस. के. सप्लायर्समा पुगेर प्याजको भाउ सोधे ।
व्यापारीले बिक्रीका लागि प्याज नभएको बताए । ‘भारतबाट प्याज आयात रोकियो । बेच्न छैन । उनीहरु भन्दै थिए । व्यापारी सुनाउँदै थिए ,'हिजो हामीले होलसेलमा १०० रुपैयाँ र खुद्रामा ११० रुपैयाँमा प्याज बिक्री गरेका थियौं।’
अनुगमनका क्रममा बजारकै नदीतर्फको भागमा सञ्चालित मिट मार्टको छेउमा करीब २०० बोरा प्याज भण्डार गरिएको भेटियो । शुरुवात्मा सामानको स्वामित्व कसैले लिएनन् । पछि सुनिल के. सी. को सामान भएको जानकारी भयो ।
सोधखोज गर्दै जाँदा थाहा भयो केसीले चुली सगरमाथा टे«डर्स नामको होलसेलबाट यी सामान भण्डार गरेका रहेछन् । उता प्याज छैन भनिएको एस. के. टे«डर्स पनि उनर्कै नाममा दर्ता भएको फर्म रहेछ । दुवै फर्मका सञ्चालक एकै व्यक्ति भएको कागजपत्रबाट पत्ता लाग्यो केसीले खुदा्र व्यापार गर्न एस. के. ट्रेडर्स र होलसेल व्यापारका लागि चुली सगरमाथा दर्ता गरेका रहेछन् । उनले हिजो ११० मा खुद्रा पसलबाट बिक्री गरेको भनेको प्याज भदौ ३० गतेको बिलमा ६८ रुपैयाँमा बिक्री गरेका थिए ।
बजारमा प्याज नभएको मौका पारेर भएको प्याज पनि नबेचेको, आफ्नै होलसेलबाट ६८ रुपैयाँमा खरिद गरेको प्याज खुद्राबाट ११० मा बेचेको एकिन भएपछि उनलाई स्थानीय प्रहरी, बजारका व्यवस्थापकको रोहवरमा मुचुल्का तयार पारेर प्रहरीलाई बुझाइएको छ। यसक्रममा केसीले गल्ती स्विकार्दै भने,‘तर,एक्लैले कानुन पालना गर्छु भन्दा ग्राहकबिनाको एक्लो व्यापारी होइन्छ । मैले व्यवहारिक रुपमा यसो गरिन भने कसरी बचिन्छ र?’
अहिले काठमाडौंको खुद्रा बजारमा प्याजको भाउ १५० रुपैयाँ सम्म पुगेको छ । अनुगमनका क्रममा बाफलबाटबल्खु आएकी खुद्रा व्यापारी रमिला महतले अनुगमन समितिसँग गुनासो पोखिन,‘ सर आज प्याज किन्न नपाइने हो?व्यापारीहरुको प्याज छ तर अरुलाई बेचिसकेको भनेर हामीलाई बेच्न मान्दैनन्।’ बजारमा प्याजको किन्न नपाउने उनी मात्र होइनन् ।
कीर्तिपुर, नयाँ दोबाटोबाट आएका अनिल बिष्ट पसल नं. १११ मा रहेकी व्यापारी सरोजा राणालाई देखाएर भनिन,‘उहाँ दिदीकोमा प्याज छ तर, आफ्ना ग्राहकलाई मात्र बेच्ने भनेर मलाई बेच्नु नै हुन्न।’उनको आरोप सुनेपछि व्यापारी सरोजाले नियमित सामान दिने गरेका ग्राहकलाई नराखे सामान किन्न नआउने जिकिर गरिन। ‘मैले त अरु दिन पनि त व्यापार गर्नु परो नि।’
त्यसपछि अनुगमन समिति प्याज आयात मूल्यको जाँच गर्न कलंकीबाट थानकोट जाने सडक खण्ड ढुङ्गे अड्डा पुग्यो । करीब ४५ मिनेट त्यहाँ रहँदा टोलीले प्याज बोकेका कुनै पनि ढुवानीका साधन भेटाउन सकेन।
त्यसपछि टोली कालीमाटी तरकारी बजार आयो । बजारले आज प्याजको भाउ ११७ देखि १२० सम्म भएको सूची सार्वजनिक गरेको छ । यो सूची देखाएर व्यापारीहरु कालीमाटीले बेच्न पाउने हामीले किन नपाउने भनेर प्रश्न गरिरहेका छन् । व्यापारीको यो आवाज समितिले कालीमाटी तरकारी तथा फलफुल बजार बिकास समितिका कार्यकारी निर्देशक बिनोदकुमार भट्टराई सुनायो ।
यसको उत्तरमा भट्टराईले यो मूल्य निर्धारण नभई बजारमा आज भएको किनबेचको अवस्था मात्र भएको जानकारी दिए।‘यसलाई हामीले सार्वजनिक गरिदिएका हौं । यो सूचनका आधारमा सरोकारवालाले अनुगमन र नियमन गर्न सकुन् भन्ने हाम्रो चाहना हो।’
बजारमा देखिएको यो अव्यवस्थालाई पूर्ण निगरानी गर्छौ । अनुगमनपछिको प्रतिक्रियामा समितिकी संयोजक एवं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आयातमा कम भएपनि बजारमा भाउ बढ्ने अवस्था नभएको बताईन।‘ मौकाको फाइदा उठाउनेहरुमाथि हाम्रो निगरानी निरन्तर रहन्छ।’उपमेयर खड्गीले भनिन।
कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी अनुगमनमा क्रममा खाद्यबस्तुमा दाल, चामल, गेडागुडी, पानीसहित पेय बस्तु, तरकारी र फलफुलको गुणस्तर, मूल्य र बजार सहजताको अवस्था हेरिरहको बताँउछन।‘ठाउँठाउँमा सुधार गर्नुपर्ने अवस्था छ।’उनी भन्छन।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना गुणस्तर, मूल्य र सहजताका दृष्टिले उपभोक्ता पाइलैपिच्छे ठगिएको बताँउछन। ‘अनुगमनको प्रभावकारिताका लागि महानगरको नेतृत्वमा थालिएको अनुगमनलाई अरु निकायले सहयोग गर्नुपर्छ । गृह र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिले पनि महानगरको अनुगमनमा सहभागी हुनुपर्छ।’उनी भन्छन।
अनुगमनमा महानगरको पशु सेवा बिभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण बिभागका प्रतिनिधिको सहभागिता रहेको थियो।
भदौ ३१, २०७७ बुधबार १६:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।